काठमाडौँ, जेठ ४ गते । कारागारबाट भागेर फरार भएकी २५ वर्षीया सपना तामाङलाई प्रहरी पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रसुवाबाट जन्म कैद फैसला भई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलस्थित महिला बन्दी सुधार गृहमा कैद भुक्तान गरिरहेका नुवाकोट किस्पाङ गाउँपालिका वडा नं. १३ की तामाङ जेठ ३ गते आइतबार काठमाडौँ महानगरपालिका वडा नं. २७ असन चोकबाट पक्राउ परेका हुन् ।
उनी २०८३ जेठ १ गते राति अन्दाजी १:२० बजेको समयमा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौँस्थित महिला बन्दी सुधार गृहको कम्पाउन्डको पछाडिपट्टिको पर्खाल नाघी भागेका थिए ।
कारागारबाट भागे पश्चात् लुकाइछिपाइ राख्न सहयोग गर्ने स्थायी घर भोजपुरको भोजपुर नगरपालिका वडा नं. ११ भइ हाल काठमाडौँ बस्ने बुवा मिनकुमार श्रेष्ठ र छोरा समिर भन्ने सुवास श्रेष्ठलाई समेत थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको प्रहरीले जनाएको छ ।