• ५ जेठ २०८३, मङ्गलबार

गलकोटको रमुवामा भिर मौरीको मह सिकार

blog

भिर मौरी सिकार गरी मह सङ्कलन गरिँदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, जेठ ५ गते । गल्कोट नगरपालिका-१०, पाण्डवखानीको रमुवामा भिर मौरीको मह सिकार गरिएको छ । स्थानीय कला, संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रमुवामा आयोजित मह महोत्सवमा भिर मौरीको मह सिकार गरिएको हो । 

शनिबारदेखि सुरु भई तीन दिनसम्म चलेको महोत्सवमा रमुवाका सामुदायिक वनमा भिर मौरीको मह सिकार गरिएको हो । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको मह सिकार कार्यक्रममा रमुवाका तारेभिरमा रहेका मौरीका गोलाबाट मह सिकार गरिएको महोत्सव आयोजक सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले जानकारी दिनुभयो । 

रमुवामा परम्परागत प्रविधि अपनाएर मात्र महको सिकार गरिँदै आएको छ । अनुभवी र स्थानीय दक्ष मह सिकारीले मात्र मह सिकारमा भाग लिएका थिए । “अग्ला भिरपहरामा चढेर मह काढ्नु साहसिक र रोमाञ्चक काम पनि हो” अध्यक्ष बुढाले भन्नुभयो । 

महोत्सवमा करिब २४ सिकारीले मह काढ्दा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको गलकोट नगरपालका वडा नं. ७ मल्मका अध्यक्ष राज थापाले जानकारी दिनुभयो । ‘‘मह काढेपछि सबैले प्रसादीस्वरूप ग्रहण गरेपछि सामुदायिक वन समूह र आयोजकलाई हस्तान्तरण गरिएको थियो’’ थापाले भन्नुभयो । त्यो मह बिक्रीबाट वन समूह र क्लबलाई मनग्य आम्दानी हुने थापाको भनाइ छ । 

रमुवाका अग्ला र डरलाग्दा पहरामा भिरमौरी पाइने भए पनि पहिलो पटक महोत्सव गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मह महोत्सवले टेवा पुग्ने क्लबका अध्यक्ष बुढाले विश्वास व्यक्त गर्नुभयो । रमुवाका स्थानीयले प्रत्येक वर्ष मह काढ्ने गर्छन् ।

मह सिकार अवलोकन गरेपछि गण्डकी प्रदेशका सांसद द्रोर्ण कुँवरले बागलुङको पहिचान बनेको भिर मौरीको मह काढ्ने संस्कृतिलाई उजागर गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘‘भिर मौरीको मह सिकार केवल परम्परा मात्र होइन, नेपाली साहस, प्रकृतिप्रतिको सम्मान र समुदायको एकताको प्रतीक हो’’ कुँवरले भन्नुभयो । 

पहरामा चोयाको भर्‍याङको सहायतामा झुन्डिएर मह काढ्ने परम्परा विशेषगरी गुरुङ र मगर समुदायको इतिहास र संस्कृतिसँग जोडिएको छ । भिरमा ज्यानको बाजी लगाएर मह काढ्ने साहसिक तथा सांस्कृतिक गतिविधिले स्थानीय परम्परा र प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई झल्काउने अध्यक्ष बुढा बताउनुहुन्छ ।

विश्वकै साहसिक पेसाका रूपमा परिचय बनाएकाले रमुवामा मह सिकार हेर्न आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको निवर्तमान वडाध्यक्ष तिक घर्तीले बताउनुभयो । ‘‘भिर मह गाउँको आयआर्जनको माध्यम पनि बन्न थालेको छ’’ घर्तीले भन्नुभयो ।