अविनाश चौधरी
धनगढी, जेठ ५ गते । कैलालीमा लागुऔषध र आत्महत्या घटनाको आँकडा डरलाग्दो देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले यस्तो घटना धेरै घटिरहेको देखाएको हो ।
सो कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाख महिनामा मात्रै यस्ता घटना धेरै घटेको छ । एक महिनामा लागुऔषध मुद्दामा दुई महिलासहित ९८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनीहरूको साथबाट प्रहरीले ८१ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित अन्य लागुऔषध बरामद गरेको छ । एक महिनामा लागुऔषध सम्बन्धी ५८ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी, दुई बालक र चार बालिकासहित एक महिनामा २६ जनाले आत्महत्या गरेको जनाइएको छ । आत्महत्या गर्ने अरूमा १४ महिला र छ जना पुरुष छन् । २५ जनाले झुण्डिएर र एक जनाले विष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।