• ५ जेठ २०८३, मङ्गलबार

मेची–महाकाली जनजागरण यात्रा ढल्केबरमा

blog

मेचीमहाकाली जनजागरण एवं हस्ताक्षर अभियान टोली । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, जेठ ५ गते । चुरे क्षेत्र तथा प्राकृतिक स्रोतको संरक्षणको माग गर्दै सञ्चालन गरिएको ‘मेची–महाकाली जनजागरण एवं हस्ताक्षर अभियान यात्रा’ धनुषाको ढल्केबर आइपुगेको छ । 

जेठ १ गते पूर्वी नाका मेचीबाट सुरु भएको अभियान पाँचौँ दिन मङ्गलबार यहाँ आइपुगेको हो । चुरे तथा वनजङ्गल संरक्षण अभियानको आयोजनामा यो यात्रा निकालिएको अभियानका अध्यक्ष सुनिल यादवले बताउनुभयो । उहाँले चुरे क्षेत्रको विनाश रोक्न र राज्यलाई आवश्यक दबाब दिन देशव्यापी जनजागरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । 

अध्यक्ष यादवले चुरे क्षेत्रमा भइरहेको अवैध गिट्टी, बालुवा उत्खनन, क्रसर उद्योगको मनपरी सञ्चालन तथा वन विनाशका कारण तराई–मधेश मरुभूमीकरणतर्फ धकेलिने खतरा बढेको बताउँदै प्राकृतिक स्रोतको दोहन रोक्न राज्य गम्भीर नभए भविष्यमा ठुलो वातावरणीय सङ्कट उत्पन्न हुने चेतावनी दिनुभयो ।

उहाँका अनुसार अभियानको मुख्य मागमा चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन् तथा क्रसर उद्योग नियन्त्रण, अतिक्रमित नदी तथा खोलानालाको संरक्षण, प्रदूषण नियन्त्रण, वनजङ्गल फँडानी रोकथाम र जडीबुटीको अवैध दोहन अन्त्य रहेका छन् ।

‘प्रकृति जोगाऔँ, भविष्य बचाऔँ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको यात्राले तराई, पहाड र हिमालबिचको वातावरणीय सन्तुलन कायम राख्न राष्ट्रिय एकताको आवश्यकता अध्यक्ष यादवको भनाइ छ । उहाँले अभियानमा सहभागी हुन तराई–मधेशका युवा, विद्यार्थी, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ता तथा सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

अभियानले यसअघि पनि सप्तरीदेखि काठमाडौँसम्म पैदलयात्रा गर्नुका साथै माइतीघर मण्डलामा लामो समयसम्म धर्ना लगायतका कार्यक्रम सञ्चालन गरिसकेको बताइएको छ ।