• १३ असोज २०८१, आइतबार

स्वास्थ्यजन्य फोहोर व्यवस्थापन

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, मङ्सिर १४ गते । नेपालगञ्ज क्षेत्रको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा देखिएको समस्या अब रहने छैन । एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि सो समस्या समाधान हुने भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–२३, हिरमिनियास्थित ल्यान्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकालाई फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जीआईजेडले दुईवटा अटोक्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । आवश्यक संरचना भने पालिकाले निर्माण गरेको हो ।

संरचना निर्माणमा मात्र ४६ लाख लागत लागेको उपमहानगरको वातावरण शाखाका प्रमुख प्रकाश डीसीले बताउनुभयो । स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० वर्षका लागि स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थालाई दिइएको उहाँले बताउनुभयो । 

वातावरण शाखाका प्रमुख डीसीका अनुसार स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापनको समस्या समाधान भएको छ । नेपालगञ्जका अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर अब सोही केन्द्रमा व्यवस्थापन हुनेछ । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर सबैभन्दा बढी दूषित र संक्रामक हुने भएकाले यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै यो केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । 

उहाँले नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको सिङ्गो टिम नेपालकै नमुना स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न सफल भएको बताउनुभयो ।