• १३ असोज २०८१, आइतबार

एक सय मत नपाउने बाह्र उम्मेदवार

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, मङ्सिर १४ गते  । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारमध्ये १२ उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गर्नुभएको छ। जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा गरी ६४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो। 

निर्वाचनको मतपरिणामअनुसार प्रतिनिधि सभा–१ मा पाँच, प्रतिनिधि सभा–२ मा छ र प्रतिनिधि सभा–१ को प्रदेश सभा (ख)मा उम्मेदवारी दिनुभएका एक उम्मेदवारले सयभन्दा कम मत पाउनुभएको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार काभ्रेपलाञ्चोक प्रतिनिधि सभा–१ का नेपाल मजदुर किसान पार्टीका उम्मेदवार पूर्णसिंह तामाङले ९४, राप्रपा नेपालका गोविन्दराज गिरीले ८५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रकाश लामाले ४६ मत मात्रै पाउनुभएको छ। 

त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन घोरसाइनेले ५९ र माधवप्रसाद कँडेलले ३३ मत पाउनुभएको छ। यसैगरी जिल्लाको प्रतिनिधि सभाको क्षेत्र नं. २ मा नेकपा (माओवादी समाजवादी)बाट उम्मेदवारी दिनुभएका योकबहादुर घिसिङले ९९, मङ्गोल नेसनल अर्गनाइजेसनका अचम्म लामाले ९२ मत प्राप्त गर्नुभएको छ।  

उम्मेदवार बन्नुभएका नेकपा परिवर्तनका उत्तरकुमार लामाले ८६, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङले ३५ तथा स्वतन्त्र उम्मेदवार बोधनाथ न्यौपानेले ८३ र कृष्ण खत्रीले ४५ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी प्रतिनिधि सभा १ को (ख)का प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गाबहादुर घर्तीले ५० मत पाउनुभएको छ। यो प्रदेश सभामा नौ जनाले उम्मेदवारी दिनुभएको थियो। प्रतिनिधि सभा क्षेत्र नं. १ मा १७ र क्षेत्र नं. २ मा १६ जनाको उम्मेदवारी थियो।