• १२ चैत २०८२, बिहिबार

बागमतीमा बजेट निर्माण प्रक्रिया सुरु

blog

मकवानपुरगढी समाचारदाता

मकवानपुरगढी, चैत १२ गते  । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्याङ्कन सम्पन्न गर्दै बजेट तयारीको गृहकार्य अघि बढाएको हो । 

बजेट स्रोत व्यवस्थापन समितिको बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्थाको समीक्षा गर्दै आगामी बजेटको सम्भावित आकार र स्रोत बाँडफाँटको प्रारम्भिक खाका तयार गरेको छ ।

समितिमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको नेतृत्वमा मन्त्रालयका निमित्त सचिव नुमानन्द अधिकारी, बजेट महाशाखा प्रमुख तथा नेपाल राष्ट्र बैङ्कका निर्देशक सदस्य रहनुभएको छ ।

आगामी आवको बजेट चालु वर्षको तुलनामा घट्ने देखिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार करिब १७ अर्ब रुपियाँ (२५.८९ प्रतिशत) ले बजेट घट्ने अनुमान गरिएको छ ।

आगामी वर्षका लागि करिब ५० अर्ब रुपियाँ हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको छ । हाल प्रदेश सरकारले चालु आवमा ६७ अर्ब ४७ करोड रुपियाँको बजेट कार्यान्वयन गरिरहेको छ तर स्रोतको सङ्कुचनका कारण आगामी वर्ष ५० अर्ब रुपियाँभन्दा बढीको बजेट ल्याउन सक्ने अवस्था नरहेको मन्त्री तामाङले स्पष्ट पार्नुभयो ।

प्रदेशको बजेटमा सबैभन्दा ठुलो हिस्सा राजस्व बाँडफाँटबाट प्राप्त हुने राजस्वको रहने अनुमान गरिएको छ । यस शीर्षकबाट ३० अर्ब ८९ करोड रुपियाँ प्राप्त हुने अपेक्षा गरिएको छ, जुन कुल बजेटको आधाभन्दा बढी हो ।

सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान पनि घट्ने सङ्केत देखिएको छ । आगामी वर्ष विभिन्न शीर्षकमा सङ्घीय अनुदानतर्फ १३ अर्ब ८१ करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै आन्तरिक आयबाट चार अर्ब १२ करोड रुपियाँ मात्रै सङ्कलन हुने प्रक्षेपण गरिएको छ ।

मन्त्री तामाङका अनुसार चालु आवपछि करिब पाँच अर्ब रुपियाँ नगद मौज्दात मात्र बाँकी रहने भएकाले बजेटको आकार खुम्चिने अवस्था सिर्जना भएको हो ।