• १२ चैत २०८२, बिहिबार

रास्वपा सभापति लामिछानेलाई अमेरिकाको बधाई

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १२ गते । संयुक्त राज्य अमेरिका सरकारले नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमत प्राप्त गर्न सफल भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएको छ । अमेरिका सरकारको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत कुराकानी गर्दै निर्वाचनमा प्राप्त जितका लागि बधाई दिनुभएको हो । 

नेपालस्थित अमेरिकी दूतावासले बुधबार यसबारे जानकारी दिँदै अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै नेपाल–अमेरिकीबिचको आर्थिक साझेदारीको सुदृढीकरण गर्न इच्छुक रहेको जनाएको छ । यसका साथै अमेरिका सरकार दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको जनाएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिटमा जित हासिल गर्दै नयाँ सरकार गठनको तयारीमा छ । रास्वपाले वरिष्ठतम नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीमा नियुक्त गर्न संसदीय दलको नेता चयन गर्नका लागि बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्रीको शपथग्रहण शुक्रबार दिउँसो १२:३४ का लागि समय निर्धारण भइसकेको छ ।