• १२ चैत २०८२, बिहिबार

सोह्र विद्यालयमा सङ्गीत शिक्षा

blog

नवलपरासी समाचारदाता

कावासोती, चैत १२ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले विद्यार्थीलाई सङ्गीतमा अध्ययन गराउन थालेपछि यसै वर्षदेखि नगरभित्रका १६ वटा विद्यालयमा सङ्गीत कक्षा सञ्चालनमा आएका छन् । सङ्गीत कक्षा सुरु भएपछि विद्यार्थीमा मोबाइलको लत घटाउन सहयोग गर्ने पनि सङ्गीत कक्षाको एउटा आधार भएको नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले बताउनुभयो । सङ्गीत सिकाइले विद्यार्थीको विषयवस्तुमा ध्यानाकर्षण हुने क्षमता विकास हुने तथा आधुनिक तथा परम्परागत बाजाको संरक्षण गर्न यो कार्यक्रमले मद्दत गर्ने पौडेलको भनाइ छ ।

यस वर्ष नमुनाका रूपमा १६ वटा माध्यमिक विद्यालयमा सङ्गीत कक्षा सुरुवात गरिएको हो । एक जना नगर सङ्गीत शिक्षक र सहायक  शिक्षक राखेर हप्तामा दुई दिन सङ्गीतको कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

पहिलो वर्ष कक्षा ६ लाई लक्षित गरी कक्षा सञ्चालन भएको र आगामी वर्षबाट कक्षा ७, ८ र ९ मा सञ्चालन गरिने नगर शिक्षा अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार पहिलो प्राथमिकतामा मादल र हार्मोनियमलाई राखिएको छ, त्यसपछि गितार तथा विभिन्न लोकबाजा बजाउने सिप प्रदान गरिने छ ।