• १३ असोज २०८१, आइतबार

लुम्बिनी प्रदेश सभामा एमाले ठूलो दल

blog

छवि पाण्डे 

बुटवल, मङ्सिर १२ गते । लुम्बिनी प्रदेश सभा प्रत्यक्षतर्फको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश सभामा रहेका ५२ सिटमध्ये एमाले कुल १८ सिट जितेर पहिलो ठूलो दल बनेको हो। 

नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो ठूलो दल बनेको छ। नेकपा ( माओवादी केन्द्र)ले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ। लुम्बिनी प्रदेश सभातर्फका सबै सिटको नतिजा सार्वजनिक भइसकेको छ। 

जसअनुसार जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई/दुई सिट जित्न सफल भएका छन्। लुम्बिनीमा तीन स्वतन्त्र उम्मेदवारले समेत चुनाव जितेका छन्।

उता रुपन्देहीबाट सीके राउत नेतृत्वको जनमत पार्टीले समेत एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाउने भएको छ। राष्ट्रिय जनमोर्चाले भने आफूले २०७४ मा प्युठानमा जितेको एक सिटसमेत अहिले गुमाएको छ। लुम्बिनी प्रदेश सभामा अब आठ दलको प्रतिनिधित्व हुने भएको छ। यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व थियो । यस पटक सत्तारूढ दलहरूबीचको गठबन्धन हुँदा प्रत्यक्षतर्फ एमालेले नौ सिट गुमाएको छ, माओवादी केन्द्रले नौ सिट गुमाएको छ। कांग्रेसले भने गठबन्धनको बलमा पहिलेको भन्दा १० सिट थपेको छ।

प्रदेश सभामा कसले सरकार बनाउने भन्ने विषय समानुपातिकको मतपरिणाम प्राप्त भएपछि मात्र टुङ्गो लाग्नेछ। ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ। केन्द्रमा गठबन्धनको सरकार बनेमा प्रदेशमा समेत त्यसको प्रभाव पर्ने देखिन्छ। निर्वाचन परिणामपछि लुम्बिनी प्रदेश सभामा राष्ट्रिय जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विजयी भएका उम्मेदवार पहिलो पटक प्रवेश गर्दै छन्।