घोराही समाचारदाता
घोराही, चैत ११ गते । दाङको लमहीमा बरामद गरिएको अखाद्य चामल नष्ट गरिएको छ । म्याद सकिएको गुन लागेको र झुम्रा परेको चामल प्रशोधन गरी बिक्रीका लागि तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको चामल बुधवार नष्ट गरिएको हो ।
लमही नगरपालिका–५ सनलाइट चोकमा रहेको आरके सप्लायर्सले उपभोक्ता लागि अखाद्य चामल प्रशोधन गरिरहेको सूचनाका आधारमा लमही नगरपालिका, वडा प्रहरी कार्यालय लमही र उद्योग वाणिज्य संघको संयुक्त टोलीले मंगलवार अनुगमन गरि चामल बरामद गरेको थियो ।
अनुगमनका क्रममा ‘सोना मन्सुली’ नामको चामलमा अत्यधिक घुन लागेको, कुहिएको तथा खान अयोग्य भेटिएको २५ किलो तौलका १ सय ११ बोरा चामल फेला परेको थियो । प्रति बोरा २ हजार रुपियाँ मूल्य उल्लेख गरिएको उक्त चामल बुधबार नष्ट गरिएको इलाका प्रशासन कार्यालय लमहीका निरीक्षण अधिकृत शोभाराम रिजालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर प्रमाणित भएकाले दफा ३९ (१) (ख) अनुसार बिक्रेतालाई २ लाख रुपियाँ जरिवाना गरिएको छ ।
चामल नष्ट गर्दा दाङका निमित्त प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख शोभाराम रिजाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, वडा प्रहरी कार्यालय लमहीका वरिष्ठ प्रहरी नायब निरीक्षक युवराज चन्द, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, लमही नगरपालिका ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपाने, लमही चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष शशीराम नेपालीलगायतको सहभागिता रहेको थियो ।