• १३ असोज २०८१, आइतबार

याक र चौँरीमा परजीवी नियन्त्रण

blog

फिदिम समाचारदाता 

फिदिम, मङ्सिर १३ गते । पाँचथरको फालेलुङ गाउँपालिकास्थित उच्च पहाडी र हिमाली भेगमा पालिएका याक र चौँरीमा लाग्ने आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको छ। फालेलुङ गाउँपालिका र स्थानीय चौँरी पालक किसान समूहको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको हो।

फालेलुङ गाउँपालिकाले फालेलुङ–४ को फालौट क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमअन्र्तगत यस क्षेत्रका याक, चौँरी र उराङ गरी ३५० वटा जनावरलाई आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि औषधि सेवन गराइएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमूख छिरिङ सेर्पाले जानकारी दिनुभयो।

उहाँका अनुसार सोमबार सञ्चालन भएको यस अभियानमा जुका, जुम्रा, किर्ना, नाम्ले आदिको समस्याबाट याक र चौँरीलाई मुक्त गर्न यो अभियान चलाइएको हो। गाउँपालिकाले ल्याएको यो अभियानप्रति किसानले खुसी व्यक्त गरेका छन्। फालेलुङ चौँरी किसान समूहका सचिव चन्द्रलाल नेपालले यसरी गोठ पायकमै आएर स्थानीय सरकारले यस्तो कार्यक्रम सञ्चालन गरेको यो पहिलो पटक भएको बताउनुभयो।

पाँचथरको फालेलुङ र याङवरक गाउँपालिका चौँरी र याक पालनका पकेट क्षेत्र हुन यहाँ करिब एक हजार पाँच सय चौँरी रहेको तथ्याङ्क छ।