• १३ असोज २०८१, आइतबार

मत घटे पनि एमाले नै पहिलो

blog

हिले समाचारदाता

हिले, मङ्सिर १२ गते । यो निर्वाचनमा पनि धनकुटामा नेपाल कम्युनिस्ट पार्टी एमाले ठूलो दल बन्न सफल भएको छ। समानुपातिकतर्फ सङ्घमा २९ हजार चार सय सात मत प्राप्त गर्दै ठूलो दल बनेको हो तर २०७४ सालको निर्वाचनमा भन्दा यो मत कम हो। अघिल्लो पटक एमाले ३० हजार नौ सय ४७ मत पाएर पहिलो दल बनेको थियो। यो पटक एमालेले एक हजार पाँच सय चालीस मत कम प्राप्त ग-यो। 

यो प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसको मत बढ्दा अरूको मत घटेको छ। समानुपातिकतर्फ २०७४ सालमा सङ्घतर्फ १२ हजार तीन सय २० मत मात्र पाएको नेपाली कांग्रेसले यो निर्वाचनमा भने १८ हजार एक सय ३५ मत ल्याएर दोस्रो ठूलो दल बन्न सफल भयो। कांग्रेसले अघिल्लो पटकको तुलनामा पाँच हजार आठ सय १८ मत बढी पाएको छ। 

त्यस्तै माओवादी केन्द्रले अघिल्लो पटकभन्दा दुई हजार छ सय ४१ मत कम पाएको छ। यो पटक माओवादी केन्द्रले चार हजार आठ सय ३८ मत ल्याएर तेस्रो दल बनेको छ। अघिल्लो पटक छ हजार एक सय ६१ मत ल्याएर चौथो दल बनेको राप्रपा यो पटक भने चार हजार तीन सय ७० मत कम अर्थात् एक हजार सात सय ९१ मत ल्याएको छ।

यो पटक चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार नौ सय ७९ र पाँचौँ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दुई हजार चार सय ४९ मत ल्याएका छन्।

यस्तै प्रदेश सभाको समानुपातिकमा पनि एमालेले पहिलो मत पाएको छ। एमालेले धनकुटामा २९ हजार सात सय ६५ मत ल्याउँदा नेपाली कांग्रेसले १९ हजार पाँच सय ७४ मत पाएको छ। धनकुटामा यो पटक एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको मा ५९.४० प्रतिशत मत खसेको थियो।