• १५ असार २०८१, शनिबार

उज्यालो पोखरा बनाउन ‘हाइमास्ट’ बत्ती

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर १३ गते । पोखरा सहरलाई झिलिमिली बनाउन सडकमा ‘हाइमास्ट सडक बत्ती जडानको गरिएको छ। पोखरा महानगरपालिकाले यहाँका सडकलाई सुरक्षित र झिलिमिली बनाउन बत्ती जडान थालनी गरेको हो। 

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएपछि पोखराको जिरो किमिमा हाइमास्ट बत्तीको शिलान्यास गरिएको छ। महानगरका अनुसार बत्ती जडानको काम शनिबारदेखि सुरु भएको छ। ‘उज्यालो पोखरा’ कार्यक्रमअन्तर्गत पोखराको जिरो किलोमिटर चोकमा ‘हाइमास्ट बत्ती जडान गरेर परीक्षण पनि गरिएको छ। पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरु गरेको महानगरले जनाएको छ। तिहारसम्ममा ‘हाइमास्ट’ र स्मार्र्ट सडक बत्ती जडानको काम सक्ने लक्ष्य राखिएको थियो। विभिन्न कारणले ढिलाइ भएको भए पनि माघसम्ममा बत्ती जडानको काम पूरा गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ। 

अबको दुई महिनासम्म लगातार काम गरेर कुल २३ स्थानमा ‘हाइमास्ट’ बत्ती जडान गरिने जनाएको छ। पोखराको लेकसाइड पर्यटकको गन्तव्य रहेकाले त्यो ठाउँलाई लक्षित गरेर काम भइरहेको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो।

फेवातालको किनारमा रहेको फुट–ट्र्याकम’ बत्ती जडानको काम भइरहेको र त्यहाँपछि पोखराका अन्य मुख्य चोकमा जडान गर्ने गरी आयोजनाको काम अगाडि बढाइएको आचार्यले बताउनुभयो। महानगर प्रमुख आचार्यका अनुसार पोखरालाई आकर्षक र थप सुरक्षित बनाउन १३ करोडको लागतमा बत्ती जडानको काम अगाडि बढाइएको हो। 

उज्यालो पोखरा अभियानअन्तर्गत विद्युत् प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनामार्फत टपसन इनर्जी प्रालिले प्राधिकरण र पोखरा महानगरपालिकाको लागत साझेदारीमा पोखराको ५० किलोमिटर सडकमा बत्ती जडानको काम हुनेछ। १६ मिटर अग्ला पोलमा ‘हाइमास्ट लाइट’हरू जडान गरिनेछन्। ती लाइटको क्षमता २०० वाटसम्म हुनेछ। महानगर प्रमुख आचार्यले सडक बत्तीको जडानले पोखरालाई थप सुरक्षित र सुन्दर बनाउने विश्वास व्यक्त गर्नुभएको छ। यसअघि करोडौँ रुपियाँ खर्च गरेर जडान गरिएका सडक बत्तीहरू नियमित मर्मतको अभावमा जीर्ण बन्दै गएकाले ती बत्तीको समेत मर्मत गरी पोखराका अधिकांश स्थानमा थप बत्तीको जडान गरेर पोखरा सहरलाई उज्यालो सहर बनाउने अभियानमा महानगर रहेको उहाँको भनाइ छ। ‘उज्यालो पोखरा’ सबैका लागि लोभलाग्दो हुनुका साथै रातिको समयमा हुन सक्ने चोरी, लुटपाट, झगडा, सडक दुर्घटनालगायतका समस्या समाधानका लागि पनि ती बत्ती सहयोगी बन्ने मेयर आचार्यले बताउनुभयो।