• १५ असार २०८१, शनिबार

महोत्तरीमा सोह्र हजार मत बदर

पुगेन मतदाता शिक्षा

blog

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर १२ गते । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा एक मतका कारण हार–जित हुन्छ। त्यसैले निर्वाचनमा हरेक मतलाई मूल्यवान् मानिन्छ। यही मतका निम्ति राज्यले अर्बौँ रुपियाँ खर्चेको हुन्छ तर महोत्तरीमा चारवटै निर्वाचन क्षेत्रको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको मतगणनामा सोह्र हजारभन्दा बढी मत बदर भेटिएको छ।  

बदर भएका मत सङ्ख्या विजयी र पराजित उम्मेदवार बीचको मतान्तर सङ्ख्याभन्दा पनि बढी हो। यी मत बदर नभएका भए स्पष्ट छ जिल्लाको निर्वाचन परिदृश्य अर्कै हुन सक्थ्यो। जिल्लाका चारवटै निर्वाचन क्षेत्रका मतदान अधिकृतको कार्यालयबाट प्राप्त अन्तिम मत परिणामअनुसार यो पटक प्रत्यक्षतर्फ दुई लाख ४७ हजार १५० मत खसेका थिए। जसमध्ये सोह्र हजार ९३ मत बदर भएका छन्। यो सङ्ख्या खसेको मतको साढे छ प्रतिशतले बढी हो। 

सबैभन्दा बढी क्षेत्र नं. २ मा चार हजार ८८९ मत बदर भएको छ भने सबैभन्दा कम क्षेत्र नं. १ मा तीन हजार ५९७ मत खेर गएको छ। त्यस्तै क्षेत्र नं. ३ मा तीन हजार ८३४ र क्षेत्र नं. ४ मा तीन हजार ७७३ मत बदर भएको सम्बद्ध निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्। 

महोत्तरी क्षेत्र नं. १ बर्दिबासस्थित सहायक मतदान अधिकृत सन्देश अधिकारीका अनुसार एउटा मतपत्र, त्यसको एउटा निर्वाचन चिह्नमा एउटा मात्र स्वस्तिक चिन्ह लागेको मात्र सदर हुन्छ। “यो मापदण्ड पूरा नगरिएका मतपत्रलाई बदरको श्रेणीमा राखिन्छ,” उहाँले बताउनुभयो। 

मतगणनाका क्रममा थरीथरीका मत पत्र प्राप्त भएको जनाइएको छ। कुनैमा ल्याप्चे लागेका, कसैका पछाडिपट्टि स्वस्तिक लागेका, कुनैमा छापै नलागेका, कुनैमा एकभन्दा बढी चिह्नमा स्वस्तिक छाप लागेका मतपत्र पाइएका थिए। यी सबैलाई बदरको श्रेणीमा राखिएको छ। यो पटक एउटै मतपत्रको चार ठाउँमा ल्याप्चे वा स्वस्तिक लागेको सबैभन्दा बढी मतपत्र फेला परेको मतगणनाकर्मीले जनाएका छन्। सुरुमा यस्ता मतपत्र मतगणना स्थलमा चासो र चर्चाको विषय हुने गरेको थियो। पछि बक्सैपिच्छे बदर मत भेटिन थालेपछि यो सामान्य घटना बन्यो। 

लोकतान्त्रिक पद्धतिमा नागरिकले आफ्नो प्रजातान्त्रिक अधिकार अभिव्यक्त गर्ने अमूल्य माध्यम बनेको मत बदर हुनुमा मतदाताले पार्टी, नेता र निर्वाचन आयोगमाथि आरोप लगाएका छन्। बर्दिबास १ का ६२ वर्षीय मतदाता सिंहबहादुर योञ्जनले निर्वाचन आयोगले हरेक चुनावमा मतपत्रको सङ्ख्या र मोडेलमा हेरफेर गर्दा पनि मतदाता झुक्किने गरेको बताउनुभयो। मतदाता शिक्षा प्रभावकारी नभएको उहाँको आरोप छ। 

अर्कोतिर मत माग्न आएका उम्मेदवार र तिनका समर्थकले एउटा मात्र मतपत्र देखाएर हातको इसारा सहित चार ठाउँमा भोट हाल्नु भनेपछि सबै मतपत्रका चार/चार ठाउँमा छाप लगाउनुपर्ने भ्रम परेकाले बदर मतको सङ्ख्या बढेको बताउनुभयो।  

उहाँले निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत सन्देश अधिकारीसमक्ष आइतबार बिहान आफूलेसमेत झुक्किएर यो पटक चारवटै मतपत्रको चार/चार गरी सोह्र ठाउँमा स्वस्तिक छाप लगाएको जनाउनुभयो। 

“पहिले त हरेकजसो चुनावमा थपघट हुने मतपत्रको सङ्ख्याले पनि झुक्याउने गरेको छ। यो पटक हाम्रोतिर मतदाता शिक्षक नै आएनन्। नेताहरूले एउटा मतपत्र देखाएर यसरी चार ठाउँमा छाप हान्नुपर्छ भन्दा हामीले एउटाको चार ठाउँमा भोट हाल्नुपर्ने बुझ्यौँ,” उहाँले प्रश्न गर्नुभयो, “अनि कसको गल्तीले बदर भयो त ?”मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बदर मतको प्रत्यक्ष असर उम्मेदवारलाई पर्ने भएकाले दल तथा उम्मेदवार गम्भीर भए मात्र यसमा कमी ल्याउन सकिने बताउनुभयो। “निर्वाचन आयोगको मात्र भर परेर हुँदैन, दल तथा उम्मेदवारले पनि मतदाता शिक्षामा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो। अर्कोतर्फ चार–चारवटा मतपत्र हुने मतदान प्रणालीसमेत गाह्रो भएकाले बढी मत बदर हुने उहाँको भनाइ छ। “एउटा मतपत्रमा एउटा छाप लगाउनुपर्ने भएको भए धेरै मत पनि खस्ने थिए र बदर पनि कम हुने थिए,” सेनले भन्नुभयो।