• १५ असार २०८१, शनिबार

बेनी–जोमसोम कोरला सडक आयोजना

तीन खण्डका ठेकेदारलाई कारबाहीको चेतावनी

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), मङ्सिर १२ गते । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत पर्ने तीनवटा खण्डको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।  

थपिएको म्यादभित्र पनि निर्माण कम्पनी योजना सम्पन्न गर्न कार्यस्थलमा परिचालन नभएपछि ठेक्का तोड्ने र कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्नेसम्मको प्रक्रिया आयोजनाले अगाडि बढाएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो। पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले योजनामा काम गर्न नआएपछि प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो। 

खन्तीदेखि जोमसोमसम्मको १६ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने ठेक्का लिएको पप्पु गौरी पार्वत कोसी न्यौपाने जेभी, जोमसोमदेखि कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्रे गर्ने योजनाको निर्माण कम्पनी रौता आत्रेय सारस जेभी र चराङदेखि छोसेरसम्मको २५ किलोमिटर सडक स्तरोन्नतिसहित ग्राभेल गर्ने जिम्मा लिएको निर्माण कम्पनी तामाङ–गौरी पर्वत कोसी एण्ड न्यौपाने जेभीलाई ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्नेसम्मको चेतावनी आयोजनाले दिएको छ। 

खन्तीदेखि जोमसोमसम्मको १६ किलोमिटर सडकको भौतिक प्रगति अहिलेसम्म करिब ६५ प्रतिशत छ। तोकिएको समयमा निर्माण सम्पन्न गर्न ध्यान नदिएपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो। यस्तै चराङदेखि छोसेरसम्मको सडकको भौतिक प्रगति ९० प्रतिशतको हाराहारीमा पुगेको भए पनि  निर्माण कम्पनीले अन्तिम अवस्थामा आएर ढिलासुस्ती गरेको र काम सम्पन्न गर्न ध्यान नदिएका कारण कारबाहीको चेतावनी दिइएको आयोजनाले जनाएको छ। यस्तै जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग अघिल्लो वर्ष ठेक्का सम्झौता भए पनि पहिलो वर्षमै सन्तोषजनक काम भएको छैन । मोभिलाइजेसनको रकम बुझेर कार्यस्थलमा परिचालन नभएपछि कम्पनीलाई भुक्तानी गरिएको साढे दुई करोड रुपियाँ धरौटी खाताबाट तानिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो।

 “ठेक्का सम्झौता भएको पहिलो वर्षमै ठेकेदारबाट सन्तोषजनक काम हुनसकेन” उहाँले भन्नुभयो, “अहिलेसम्म जम्मा नौ प्रतिशत भौतिक प्रगति भएको छ। कार्यस्थलमा निर्माण कम्पनी परिचालन भएको छैन। पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ध्यान नदिएपछि हामीले चेतावनी स्वरूप कारबाहीको प्रक्रियाका लागि सूचना प्रकाशित गरेका हौँ।”

आयोजनाले “कारबाही प्रक्रिया अगाडि बढाएपछि निर्माण कम्पनीहरू सम्पर्कमा आएका छन्”, उहाँले भन्नुभयो, “कार्यस्थलमा फर्किएर काम नथाले ठेक्का तोड्ने र कालोसूचीका लागि सिफारिस गर्नेसम्मको कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छौँ।” बेनी जोमसोम–कोरला ११० किलोमिटर सडकलाई सात खण्डमा विभाजन गरी काम सुरु भएको थियो। सडकको दुई पटक म्याद थप भइसकेको छ भने पछिल्लो समय थपिएको म्याद आगामी असारमा सकिँदै छ।

यसैगरी घाँसास्थित पक्की पुलको ठेक्का लिएको सिरुवा कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडेर कालोसूचीका लागि सिफारिस गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो। २०७७ मा पुल निर्माण सक्नुपर्नेमा २०७७ असोजदेखि नै काम नगरी बसेकाले पटक पटक ताकेता गर्दा पनि कार्यस्थलमा परिचालन नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता तोडेर कालोसूचीमा राख्नका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो।