• १३ असोज २०८१, आइतबार

मोरङमा खुम्चियो एमाले

blog

धीरज दाहाल 

विराटनगर, मङ्सिर १२ गते । मोरङमा वाम लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका चार स्थानमध्ये तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको छ। क्षेत्र नं. २ मा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएकी कांग्रेस नेत्री सुजाता कोइराला भने पराजित हुनुभएको छ। २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ डाक्टर मीनेन्द्र रिजाल मात्र विजयी हुनुभएको थियो। त्यसैगरी प्रदेश सभामा चारवटा स्थानमा जितेको कांग्रेसले यो पटक भने प्रतिनिधि सभामा तीन र प्रदेश सभामा पाँचवटामा जित निकालेको छ।

अघिल्लो निर्वाचनमा जिल्लाका छवटा प्रतिनिधि सभा सदस्यमा तीनवटा र १२ वटा प्रदेश सभा सदस्यमा पाँच स्थान जितेको नेकपा एमाले भने यस पटक खुम्चिएको छ। प्रतिनिधि सभामा एक स्थानमा मात्र विजयी भएको एमाले प्रदेश सभामा भने पाँचवटा स्थानमै जित निकाल्न सफल बनेको छ। 

त्यसैगरी वाम लोकतान्त्रिक गठबन्धनकै साझेदार दल नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभातर्फ दुई स्थानमा उम्मेदवार रहेकामध्ये क्षेत्र नं. ५ मा पराजित बनेको छ। ०७४ सालमा प्रतिनिधि सभामा दुई र प्रदेश सभामा दुई सिट जितेको माओवादी केन्द्र यो पटक प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई स्थानमा विजयी बनेको छ। नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका योगेन्द्र मण्डल मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डललाई पछाडि पार्दै विजयी हुनुभयो। 

जनता समाजवादी पार्टीले अघिल्लो पटक जितेको एउटा प्रदेश सभा सदस्य पनि यस पटक गुमाएको छ। त्यसैगरी सत्ता गठबन्धनकै साझेदार दल नेकपा समाजवादीले प्रदेश सभामा स्थान बनाउन सकेन। मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले पाँच, नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले दुई सिट सुरक्षित गर्न सफल भएका छन्।

प्रतिनिधि सभातर्फको नतिजा

मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिकबहादुर लिम्बू विजयी हुनुभएको छ। उहाँले नेकपा एमालेका घनश्याम खतिवडालाई ४१२ मतको मतान्तरले पराजित गर्नुभएको हो। लिम्बूले २७ हजार २९७ मत ल्याउँदा एमालेका खतिवडाले २६ हजार ८६७ मत प्राप्त गर्नुभएको थियो। 

मोरङ क्षेत्र नं. २ बाट नेकपा एमालेका ऋषिकेश पोखरेल प्रतिनिधि सभामा विजयी हुनुभएको छ । उहाँले ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४० मत प्राप्त गर्नुभएको थियो। 

क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार सात सय ३६ मतको मतान्तरले पछाडि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्नुभएको छ भने ढकालले २५ हजार ८९५ मत हासिल गर्नुभएको थियो। 

मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदी एमालेका नेता विनोद ढकाललाई छ हजार १४९ मतको मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको छ। उहाँले ३० हजार ६१२ मत र ढकालले २४ हजार ४६३ मत हासिल गर्नुभएको थियो।क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल २१ हजार ८२० मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ प्राप्त गर्नुभएको थियो। मोरङ ६ बाट कांग्रेसका नेता डा. शेखर कोइराला नेकपा एमालेका चर्चित तथा पुराना प्रतिस्पर्धी लालबाबु पण्डितलाई पछाडि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो। कोइरालाले ३५ हजार २२४ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पण्डितले २२ हजार ९४६ मत प्राप्त गर्नुभएको छ। 

प्रदेश सभातर्फको विवरण 

मोरङ क्षेत्र नं. १ (क) र १ (ख)मा एमालेका उमाकान्त गौतम र खड्गबहादुर बस्नेत विजयी हुनुभएको छ। क्षेत्र नं. २ (क)मा माओवादी केन्द्रका गणेश उप्रेती र २ (ख)मा एमालेका लीलावल्भ अधिकारी प्रदेश सभामा विजयी हुनुभएको छ। क्षेत्र नं. ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बू र ३ (ख)मा नेकपा एमालेका ज्ञानेन्द्र सुवेदी विजयी हुनुभयो।

क्षेत्र नं. ४ (क)मा एमालेका जयप्रकाश चौधरी र क्षेत्र ४ (ख)मा विराटनगर महानगरपालिका पूर्वप्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली विजयी हुनुभएको छ। 

क्षेत्र नं. ५ (क) र (ख)मा नेपाली कांग्रेसका गयानन्द मण्डल र अमृत अर्याल विजयी हुनुभएको छ। क्षेत्र नं. ६ (क)मा माओवादी केन्द्रका जीवन आचार्य र (ख)बाट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विजयी हुनुभएको छ।