निकुञ्ज बन्दै छ घाँसेमैदान
चितवन राष्ट्रिय निकुञ्जले यस वर्ष २२५ हेक्टर क्षेत्रफलमा घाँसेमैदानको व्यवस्थापन गर्ने भएको छ । यहाँ जनावरहरूलाई घाँसेमैदानको आवश्यकता परेकाले ५० हेक्टर क्षेत्रफलमा नयाँ र अन्य क्षेत्रमा व्यवस्थापनको काम गर्न निकुञ्जले लागेको हो । दुर्लभ वन्यजन्तु एकसिङे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि घाँसेमैदान आवश्यक परेकाले छिट्टै व्यवस्थापनको काम गर्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
चुनावको मुख्य एजेन्डा : सुकुम्बासी र भूमिसम्बन्धी समस्या
दुईवटा सङ्घीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले भूमिसम्बन्धी समस्याको समाधानलाई चुनावको मुख्य एजेन्डा बनाउँदै भोट माग्ने गरेका छन् । यहाँका सबै उम्मेदवारले प्रतिबद्धतापत्र, घोषणपत्र, घरदैलो कार्यक्रम, कोणसभा, आमसभा र मतदाता भेटघाटमा भूमिहीन तथा सुकुम्बासी समस्याको स्थायी समाधान गर्नेमा जोड दिएका छन् ।
बाजुरामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा
मङ्सिर ४ गते हुने निर्वाचनमा बाजुरामा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट स्थायी कमिटी सदस्य ५४ वर्षीय कर्णबहादुर थापा र पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका सह महामन्त्री ४८ वर्षीय बद्रीप्रसाद पाण्डे उम्मेदवार रहनु भएको छ ।
सिक्टा र भेरी–बबई डाइभर्सन पूरा गर्ने सङ्कल्प
नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं. ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुग्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुन्नुभयो र गठबन्धनका लागि जनतासँग भोट माग्नुभयो । जनगुनासो सुनिसकेपछि उहाँले भन्नुभयो, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै तटबन्धको छ, यहाँबाट निर्वाचित भएपछि म यिनै कामबाट आफ्नो कार्यकाल सुरु गर्छु ।”
निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक कार्य तीव्र गतिमा अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेको बताइएको छ । यस जिल्लामा कात्तिक १८ गतेदेखि जारी मतदाता शिक्षा कार्यक्रम आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । कम्तीमा १५ जना व्यक्तिलाई मतदाता शिक्षा दिनुका साथै एउटा मतदाता शिक्षा सामग्री उपलब्ध गराइएको छ ।
आलु खेतीमा आकर्षण बढ्दो
गुल्मीका ग्रामीण क्षेत्रमा महिला आलु खेती गर्न निकै व्यस्त छन्। जिल्लाको मुसीकोट नगरपालिकाका महिला समूहमा आबद्ध भएर आलु खेती गर्न निकै व्यस्त भएका हुन्। मुसीकोट नगरपालिका–७, वामीटक्सारमा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले सामूहिक आलु खेती गर्ने महिलालाई प्रोत्साहन गर्दै आएको हो। उक्त सहकारी संस्थामार्फत वडा नं. ८ मा गठित अमृतपुर आलु तथा अलैँची उत्पादक कृषक समूहले पनि कृषकहरूलाई समूहमा काम गर्न प्रोत्साहन गरेको छ।
विश्वमा आठ अर्ब मानिस
संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार मङ्गलबारबाट विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ। गत जुलाई ११ तारिखमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको थियो। सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो। विश्व जनसङ्ख्या कोषले चार महिनाअघि सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस् २०२२’ले विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने प्रक्षेपण गरेको छ।
बागी उम्मेदवार सत्ता गठबन्धनलाई त्रास
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै छ । यो अवस्थामा सत्तारूढ गठबन्धनलाई अहिले नेपाली कांग्रेसका बागी उम्मेदवार अर्थात् स्वतन्त्र उम्मेदवारले चुनौतीका साथै त्रास बढाइदिएको छ । सत्तारूढ गठबन्धनका तर्फका उम्मेदवारको प्रतिस्पर्धा गर्दै जुम्लामा कांग्रेसका शक्तिशाली नेताको उम्मेदवारी कायमै भएपछि गठबन्धनमा त्रास फैलिएको हो ।
महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड
निर्वाचन सुरक्षार्थ खटिएका महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड र प्राथमिक उपचारका लागि औषधि प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टे«डर्ससँगको समन्वयमा ३१८ जना महिला सुरक्षाकर्मीलाई एक महिनालाई पुग्ने स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो। उहाँहरूलाई सिटामोल, जीवनजल, सुगर, प्रेसरका सामान्य औषधि तथा प्राथमिक उपचारका अन्य सामग्री प्रदान गरिएको जनाइएको छ। निर्वाचन सुरक्षामा खटिने ६७ महिला प्रहरी र २५१ जना महिला म्यादी प्रहरीलाई सामग्री हस्तान्तरण गरिएको बागलुङका प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताउनुभयो।