सुन्तलामा औँसा कीरा
बिक्री गर्ने बेला सुन्तला कुहिएर बोटमै झर्न थालेपछि बागलुङका सुन्तला उत्पादक चिन्तित भएका छन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा भेटिएको छ । सो कीराका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो ।
किसान मल माग्छन् उम्मेदवार दिन्छु भन्छन्
आगामी मङ्सिर ४ गते सिङ्गो देश र प्रदेशको नीति, कार्यक्रम, कानुन बनाउने विधायिकी नेतृत्वका लागि हुने आमनिर्वाचनमा मत माग्न घरदैलो पुगेका उम्मेदवारसँग मतदाताले माग्छन्– रासायनिक मल, बीउ, पानी। रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्क गाउँमा ५८ घर दलित समुदायको बसोबास छ। यहाँको दलित समुदायलाई अहिले सबैभन्दा ठूलो समस्या खानेपानीको छ। २०५९ सालमा एक गैरसरकारी संस्थाले निर्माण गरिदिएको खानेपानी आयोजना २०७२ सालको भूकम्प र बाढीपहिरोले क्षति भएपछि मर्मत हुन सकेको छैन।
नेता र कार्यकर्ताबीच तीव्र प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ मा विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका सहकर्मीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधि सभा सदस्यका लागि एक जना स्वतन्त्र र नौ जना दलका गरी १० जना उम्मेदवार रहेको सो क्षेत्रमा विगतमा नेकपा (एमाले)का नेता रहेका विरोध खतिवडालाई उतिखेर आफ्नै कार्यकर्ता रहेर सहयोग गरेका महेशकुमार बर्तौलाले कडा चुनौती दिनुहुँदै छ।
सीमा समस्यादेखि धुलाम्मे सडकसम्मका मुद्दा
कञ्चनपुर भीमदत्त नगरपालिका–४ की स्थानीयवासी ललितादेवी भटट वर्षमा दुई पटक स्वास्थ्योपचारका लागि भारत जानुपर्छ। तर, आवतजावत गर्दा प्रायः सबै भारतीय सुरक्षाकर्मीको अनावश्यक ज्यादतीको झमेला भोग्नुपर्छ। यस पटकको निर्वाचनमा सीमावर्ती बजारदेखि दिल्लीसम्म जाँदा भोग्नुपर्ने झन्झटको कूटनीतिक समाधान निकाल्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा उहाँ हुनुहुन्छ। उहाँले भन्नुभयो, “हरेक उम्मेदवारलाई मैले भारत आवतजावत गर्दा नेपालीले पाउने सास्ती अन्त्य हुन्छ कि हुँदैन भनेर सोध्ने गरेकी छु। मलाई चित्त बुझ्ने उत्तर दिने उम्मेदवारलाई भोट हाल्छु।”
इलाममा निर्वाचन सुरक्षा तयारी पुरा
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलाममा सुरक्षा तयारी पुरा भएको छ । जिल्लामा एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।
कपिलवस्तु–१ मा बलदेव र बलरामबीच रस्साकस्सी
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ चुनावी माहोलले तातेको छ। उम्मेदवारहरू नयाँ एजेन्डासहित मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त छन। यस पटक कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणि खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री खनाल र नेकपा (एमाले) नेता अधिकारीबीचको रस्साकस्सीले कपिलवस्तुको चुनावी माहोललाई थप रोचक बनाएको हो। मङसिर ४ गते हुने निर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर रहेका खनाल र अधिकारी अघिल्लो निर्वाचनमा साझेदार सहकर्मीका रूपमा हुनुहुन्थ्यो।
गाउँ भरिभराउ
पछिल्लो समय मौसम खुलेसँगै घुम्न जानेको सङ्ख्या बढ्न थालेको छ । सहर बजारभन्दा पनि गाउँसम्म पुगेर ग्रामीण परिवेशमा रमाउने पर्यटक बढ्दो छ । कास्कीका मुख्य पर्यटकीय गाउँमा यतिखेर पाहुनाको घुइँचो लागेको छ । दसैँतिहारको बिदा सकिएलगत्तै कास्कीको घान्दु्रक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङ, घलेगाउँलगायतका पर्यटकीय स्थलमा चहलपहल बढ्न थालेको हो ।
सर्प संरक्षण र उद्धार गर्दै भण्डारी
घरआँगन तथा खेतबारीमा सर्प देख्नासाथ सुनवल नगरपालिकाका शङ्कर भण्डारीलाई फोन सम्पर्क गर्नु अनिवार्य नै भइसकेको छ। स्थानीयवासी पनि सर्पलाई मार्ने होइन, भण्डारीलाई फोन गरी नियन्त्रणमा लिनका लागि आग्रह गर्ने गर्छन्। घरआँगन तथा खेतबारीमा भेटिएको वा मान्छेलाई टोकेमा धेरैजसोले सर्पलाई मार्ने गर्छन् तर भण्डारी भने सर्पलाई मार्ने होइन नियन्त्रणमा लिएर संरक्षण गर्नुपर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ। सानै उमेरदेखि प्रकृतिसँग रमाउने बानीका कारण भण्डारीले गाउँघर तथा बस्तीहरूमा फेला परेका सर्पलाई नियन्त्रणमा लिई संरक्षण गर्दै आउनुभएको छ। उहाँले सर्प नमार्नसमेत आग्रह गर्नुभएको छ।
ज्योतिनगरको पहिरो उम्मेदवारको चुनावी एजेन्डा
बुटवल ज्योतिनगरको पहिरो प्रत्येक चुनावमा नेताहरूका लागि भोट माग्ने मुख्य एजेन्डा बन्ने गरेको छ। चुनावका बेला नेता तथा उम्मेदवारहरूले बोल्ने शब्द ज्योतिनगरको पहिरो रोकथाम नै हुने गरेको छ। चुनावी कार्यक्रम तथा घरदैलोमा जाँदा उम्मेदवारले बुटवलवासी मतदातासँग गर्ने प्रतिबद्धताको शब्द नै पहिरो रोकथाम हुन्छ। सोही पहिरो मुख्य एजेन्डा बनाएर यसै क्षेत्रबाट नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पटक पटक निर्वाचित हुनुभयो।