• १३ असोज २०८१, आइतबार

कपिलवस्तु–१ मा बलदेव र बलरामबीच रस्साकस्सी

blog

नारद कोहार

तौलिहवा, कात्तिक २८ गते । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ चुनावी माहोलले तातेको छ। उम्मेदवारहरू नयाँ एजेन्डासहित मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त छन। यस पटक कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणि खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री खनाल र नेकपा (एमाले) नेता अधिकारीबीचको रस्साकस्सीले कपिलवस्तुको चुनावी माहोललाई थप रोचक बनाएको हो। मङसिर ४ गते हुने निर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर रहेका खनाल र अधिकारी अघिल्लो निर्वाचनमा साझेदार सहकर्मीका रूपमा हुनुहुन्थ्यो। २०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका खनालले कपिलवस्तु–१ मा २९ हजार ७९९ मत ल्याउनुभएको थियो। उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाउनुभएको थियो। २०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका खनाल र उपाध्याय अहिले वाम लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रूपमा रहनुभएको छ। 

गत वैशाखमा मात्रै भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु–१ मा ३० वडाध्यक्षको मतलाई आधार मान्दा गठबन्धन अगाडि देखिन्छ। स्थानीय निर्वाचनमा कांग्रेसले २८ हजार २७१ ल्याएको थियो। एमालेले २६ हजार ८२३ रहेको छ। त्यस्तै जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको नौ हजार ३३८, एकीकृत समाजवादीको तीन हजार ७२२, लोसपाको तीन हजार ४२४, राप्रपाको दुई हजार ४८० रहेको छ। हाल कायम रहेको वाम लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बलियो देखिन्छ। कपिलवस्तु–१ मा कुल मतदाता एक लाख ४१ हजार १३ रहेका छन। २०७० मा पहिलो पटक कपिलवस्तु–१ बाट निर्वाचित अधिकारीलाई यस पटक सत्ता गठबन्धन चुनौतीपूर्ण बन्ने देखिन्छ। २०७४ को चुनावमा अधिकारीले खनाललाई सहयोग गर्नुभएको थियो। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रमुख राजनीतिक सल्लाहकारसमेत भइसक्नुभएका खनाल कृषिमन्त्रीसमेत हुनुभयो। उहाँले आफ्नो कार्यकालमा व्यावसायिक कृषि, उद्योग र सुकुम्बासीका लागि योजना निर्माण, मालपोतमा देखिएका भ्रष्टाचार निवारण गर्न अनलाइन प्रणालीको अवधारणा अगाडि ल्याउनुभएको थियो। खनाल अहिले आफूले कृषिमा गरेको योजना र कामलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्दै जनतासँग मत माग्न घरदैलोमा पुग्नुभएको छ। कपिलवस्तु–१ मा वाणगङगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन। 

एमालेका अधिकारी पनि आफू निर्वाचित हुनेमा विश्वस्त देखिनुहुन्छ। “अघिल्लो निर्वाचनमा लडन नपाउनु अर्को अवस्था थियो। लामो समय जनतासँग भिज्दै आएको छु। यही नै मेरो जितको आधार हो,” अधिकारी भन्नुहुन्छ। जिल्लाको उत्तरी क्षेत्रहरू महेन्द्रकोट, दुविया, बुडडीलगायत क्षेत्रहरू २०७० मा निर्वाचन क्षेत्र–१ मा थियो। हाल क्षेत्र–१ मा जिल्लाको मायादेवी, शुद्धोधन र कपिलवस्तु नगरपालिकाका आंशिक क्षेत्रहरू समेटिएको छ। दक्षिणी सीमावर्ती क्षेत्रमा खनालभन्दा अधिकारीको प्रभाव बढी देखिन्छ। 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमाले केही बलियो थियो। कपिलवस्तु–१ मा नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएकाले गठबन्धनलाई अर्को चुनौती हुने देखिएको छ। प्रदेश सभा (क)मा कांग्रेसका डोलकराम घिमिरे र (ख)मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ। २०७४ सालमा यादव यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। घिमिरे समाजसेवीका रूपमा परिचित हुनुहुन्छ। एमालेबाट प्रदेश–१ (क)मा विष्णु पन्थी र (ख)मा मधुसूदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ। पन्थीले यसअघिको निर्वाचन पनि जित्नुभएको थियो।