स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख २८ गते । भक्तपुर नगरपालिका – ८ लिवालीकी २२ वर्षीया तृष्णा अधिकारीको मुहार यतिबेला उत्साहले भरिएको छ । कारण हो, बागमती प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा सहभागी हुन पाउँदाको क्षण ।
सम्मेलनमा देखिनुभएका देशभरीका तीनसय बढी युवाहरुको मुहार केलाउँदै व्यस्त हुनुहुन्छ, तृष्णा । सम्मेलनले केही परिवर्तन ल्याउने आशामा आउनुभएका युवा समूहमा उहाँ पनि जोस जाँगरकासाथ सबै काम थाती राखेर यहाँ आउनुभएको हो ।
उहाँलाई सम्मेलनले आफूमाथि नेतृत्व सीपको भावना जगाउँछ भन्ने विश्वास दिलाएको छ । पहुँचबाट टाढा भएका र दूरदराजमा गाभिएका युवालाई समेट्नु पर्ने धारणा राख्दै उहाँ भन्नुहुन्छ, “युवा सम्मेलनमा समावेशीता छ भन्ने अपेक्षा छ । सरकारले युवाहरुलाई दक्षताका आधारमा सीप निर्माण गर्न सक्ने वातावरण सिर्जना गरिदेओस् ।”
युवालाई मात्र हैन, समग्र उमेर समूहलाई लक्षित गरेर आर्थिक उपार्जन हुने कार्यक्रम सञ्चालनमा ल्याओस् । कृषिमा आत्मनिर्भर परिवारमा हुर्किएको हुँदा मलाई यहाँबाट आधुनिक कृषि प्रणलीमा जोडिएर कसरी आत्मनिर्भर भइन्छ भन्ने विषयको ज्ञान लिन रहर छ ।”
यता, चितवनको भरतपुर महानगरपालिकाका रोहन बगालेको पनि सम्मेलनमा उत्साहजनक सहभागिता रहेको छ । उहाँ २५ वर्षीय जोसिलो युवा हुनुहुन्छ । सोसियोलोजी अध्ययन गर्नुभएका बगालेले हिमाली नवीन समाज नामक गैर सरकारी संस्थामा सडक बालबालिकाको पारिवारिक पूनर्मिलन गर्ने क्षेत्र सम्हाल्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “देशको स्थितिले युवा वर्गमा छाएका नैराश्यतालाई यस सम्मेलनले मेटाउने प्रयत्न गरोस् । यहाँ सहभागी हुनुभएका प्रत्येक यूवालाई सरकार साथमा रहेको अनुभुति सम्मेलनले दिलाउन सकोस् ।”
सम्मेलनले युवाबिच भाईचारा र सामूहिक कार्यमा संलग्न हुने प्रेरणा दिने मेरो अपेक्षा रहेको बगालेले बताउनुभयो । युवाहरु आइटिमा अगाडि बढिरहँदा कृषिलाई पनि उत्तिकै महत्वका साथ अगाडि बढाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
सम्मेलनमा सहभागी हुनुभएकी चन्द्रागिरी नगरपालिका बलम्बुकी ३० वर्षीया अस्मिता बयलकोटीको चाहना अरुको भन्दा फरक छ । उहाँ सम्मेलनमा फरक उद्देश्यकासाथ सहभागी हुनुभएको छ । उहाँ मर्यादित महिनावारी अभियान नेपालको केन्द्रीय सदस्य रहनुभएको छ । उहाँको अपेक्षा यसै सम्मेलनमार्फत युवाहरुमा महिनावारी विभेदलाई अन्त्य गरिनुपर्छ भन्ने भावना विकास गराउनु हो ।
सम्मेलनका अर्का सहभागी दुर्गा घिमिरे घोरासैनी मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा –५ मा बस्नुहुन्छ । अहिले उहाँ ४० वर्षीया युवती हुनुहुन्छ । स्थानीय सरकारले युवासँग प्रत्यक्ष समन्वयन गरी युवा लक्षित कार्यक्रम भित्र्याउन आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
स्वरोजगार पाइला नेपाल कृषि महिला समूहमा अध्यक्ष रहनुभएकी घोरासैनीले आफनो समूहले सेनिटरी प्याड उत्पादन गर्ने गरेको तर त्यसको बजारीकरण नहुँदा समस्यामा परेको बताउनुभयो । सरकारले लागू गरेको बीउ पुँजी कार्यक्रम झन्झटिलो रहेको र त्यसको सरलतातर्फ सरकारले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, कार्यक्रमका अर्का सहभागी निलकण्ठ बरुवाल धादिङबेसी नगरपालिका –३ देखि सम्मेलनमा आउनुभएको छ । २६ वर्षीय बरुवाल आफनै फोटो स्टुडियो सञ्चालन गर्दै आउनुभएकोे बताउनुहुन्छ । सम्मेलनमा सहभागी युवाहरुको समस्या, चूनौती, अनुभव र आगामी सम्भाव्यतालाई सुनेर त्यसलाई मनन गर्न उहाँ आउनुभएको हो ।