• २९ वैशाख २०८२, सोमबार

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

blog

फाइल तस्बिर

राजकुमार भट्टराई

खोटाङ, वैशाख २८ गते । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो । 

आफ्नै श्रीमानको हत्या अभियोगमा ५३ वर्षीया रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । शनिबार बिहान मकैबारीमा जोत्नेक्रममा सामान्य विवाद हुँदा श्रीमती रेनुकाले श्रीमान पाँच कर्णलाई कोदालोको पासोले टाउकोमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुसान्त मिश्रले बताउनुभयो । 

गम्भीर घाइते पाँच कर्णलाई नगर अस्पताल दुर्छिम उपचारका लागि लगिएको थियो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा पाँच कर्णको शनिबार साँझ मृत्यु भएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।  

रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उहाँलाई शनिबार बिहान  पक्राउ गरिसकेको छ । श्रीमानको हत्या अभियोगमा पक्राउ गरिएको रेनुकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।