• ८ पुस २०८२, मङ्गलबार

बल्घासलाई खेल मैदानका लागि निःशुल्क जग्गा

blog

बल्घास एकता युवा क्लबले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा प्राप्त गरेको स्थान । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, पुस ८ गते । सातौँ वार्षिकोत्सवको तयारी गरिरहेको पश्चिम बागलुङको बडिगाड गाउँपालिका-९, बल्घास एकता युवा क्लबले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा प्राप्त गरेको छ । 

स्थानीयवासी धनबहादुर बुढाथोकी, थानबहादुर बुढाथोकी र ताराबहादुर बुढाथोकी परिवारले खेलमैदान निर्माण गर्न क्लबलाई मैदालेमा रहेको तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको क्लबका पूर्व अध्यक्ष प्रेम केसीले जानकारी दिनु भयो ।

केसीका अनुसार क्लबका लागि उपलब्ध जग्गामा आवश्यक खेलमैदान र संरचना निर्माणका लागि वडा, पालिका र प्रदेश सरकारलाई अनुरोध गरिने छ । खेलमैदान निर्माणका लागि यसअघि नै क्लबले सो जग्गामा संरचना निर्माणको आश्वासन पालिकाबाट पाएको छ ।

आगामी पुस ९ गतेबाट सुरु हुने क्लबको वार्षिकोत्सवमा ऐतिहासिक गोरु जुधाइसहित विविध कार्यक्रमको आयोजना क्लबले गरेको छ । गोरु जुधाइ प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु हुनुपर्ने आयोजकले जनाएको छ ।

आधुनिक प्रविधिसँगै गोरु पाल्ने चलन पनि हराउँदै गएकाले ‘गोरु संरक्षण’ संगै यस क्षेत्रको परम्परागत चलन बचाउन प्रतियोगिता आयोजना गरिएको क्लब अध्यक्ष लालबहादुर बुढाथोकीले बताउनु भयो । प्रतियोगितामा पहिलो हुने गोरुधनीले नगद ३० हजार ५ सय ५५ र र दोस्रोले १५ हजार ५ सय ५५ र प्रमाणपत्र पुरस्कार पाउनु हुने छ । 

वार्षिकोत्सवको अवसरमा गोरु जुधाईसँगै साविक वडास्तरीय पुरुष भलिबल, सामूहिक नृत्य, एकल नृत्य, रस्साकस्सी, हाँस छोपाई, घैँटो फोर, श्रीमती बोकेर दौड प्रतियोगिता पनि आयोजना गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयाे । कार्यक्रममा राष्ट्रिय कलाकार थानेश्वर गौतम, प्रकाश पराजुली, रवि कार्की, दिप्लब खाती, तारा थापा, लालुमाया कुँवर, कमल बरालसँगै ज्ञान बहादुर बलामीको प्रस्तुति रहने छ ।