• २४ चैत २०८२, मङ्गलबार

त्रिवेणी–दुम्किबास सडक : दुई दशकदेखि अलपत्र योजना

blog

प्रधानमन्त्री बालेन शाहलाई सडकको अवस्थाबारे जानकारी गराउँदै सांसद । तस्बर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत २४ गते ।
बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डको जोखिमपूर्ण यात्राका कारण आजित भएका सर्वसाधारणका लागि त्रिवेणी–दुम्किबास सडक जीवनरेखा मानिन्छ। तर, २० वर्षअघि सुरु भएको यो योजना अझै अलपत्र छ। यस सडकले पश्चिम नवलपरासी–१ (सुस्ता गाउँपालिका) हुँदै पूर्वी नवलपरासी–९ (नवलपुर) सिधा जोड्ने क्षमता राख्दछ।

साविकको नवलपरासी जिल्ला हुँदा धार्मिक गुरु कमलनयनको अगुवाइमा र संघीय सरकारको करोडौँ बजेट विनियोजन गरेर २० वर्षअघि त्रिवेणीदेखि दुम्किबाससम्मको सडक खण्डको ट्रयाक खोलिएको थियो। १५ वर्षअघि ट्रयाक खुलेर करिब १८ किलोमिटर लम्बाइमा सडक बनेको भए पनि हालसम्म निर्माण कार्य ठप्प छ।

सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा पर्ने भएकाले कानुनी जटिलताका कारण निर्माण रोकिएको हो। स्थानीय बासिन्दाहरूले राज्यको लगानी र योजनामा गम्भीर प्रश्न उठाएका छन्।

स्थानीयहरूको प्रश्न छ, “यदि कानुनी वा निकुञ्ज समस्या थियो भने सुरुमा नै किन करोडौँ बजेट खर्च गरेर ट्रयाक खोलियो?” उनीहरू भन्छन्, “एकातिर राज्यकोषको करोडौँ खर्च गर्ने र अर्कोतिर कानुनको बाधक देखाएर योजना अलपत्र पार्नु विकास होइन।”

पश्चिम नवलपरासी–१ का सांसद विक्रम खनालले भन्नुभयो, “दाउन्नेको जाम र सडकको दुरावस्थाका कारण जनताले वर्षौँदेखि सास्ती भोगिरहेका छन्। १५ वर्षअघि खोलिएको सडकलाई निकुञ्जको नाममा रोक्नु विकासको कदम होइन। कानुनी गाँठो फुकाएर भए पनि सडक तत्काल सञ्चालनमा ल्याउनुपर्छ।”

सडक निर्माण सम्पन्न भएमा पश्चिम नवलपरासीको हुलाकी सडक हुँदै यात्रुहरूले पूर्वी नवलपरासीको त्रिवेणी र दुम्किबास सिधै पुग्न सक्नेछन्। यसले बर्दघाट–दाउन्ने खण्डको घुमाउरो र जामयुक्त सडक प्रयोग गर्नुपर्ने बाध्यता हटाउनेछ।

पूर्वी नवलपरासी–९ (नवलपुर–२) का सांसद मनिष खनालले भन्नुभयो, “त्रिवेणी–दुम्किबास सडक महत्त्वपूर्ण छ, तर क्षेत्र विश्व सम्पदा सूची र राष्ट्रिय निकुञ्जसँग जोडिएको भएकाले अन्तर्राष्ट्रिय सन्धि र वातावरणीय कानुन उल्लङ्घन नगरी कानुनी निकास खोज्नुपर्छ।”

दाउन्ने खण्डमा हुने सडक दुर्घटना र घण्टौँ लामो ट्राफिक जामबाट मुक्ति पाउन यो सडक सबैभन्दा छोटो र उपयुक्त विकल्प मानिन्छ। त्रिवेणी धाम जस्तो धार्मिक स्थल र भारतीय सीमा नछोई राजमार्गसँग जोड्ने यस सडकले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

स्थानीयहरूलाई आफ्नै गाउँपालिका जान बर्दघाट नाका घुम्नुपर्ने बाध्यता हटाउन र धार्मिक पर्यटन प्रवर्धन गर्न सडक निर्माण आवश्यक छ। यदि सडक विस्तार भएमा दाउन्नेको कठिन यात्रा र जामको दीर्घकालीन समाधान हुने स्थानीयको विश्वास छ।

निकुञ्जको संरक्षण गर्दै पर्यावरणमैत्री सडक मोडेल अपनाएर पनि यो रणनीतिक मार्ग सञ्चालनमा ल्याउन स्थानीयहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बुटवल–नारायणगढ सडक विस्तारको सुस्त गतिले सर्वसाधारण चरम सास्ती भोगिरहेका बेला, कानुनी गाँठो फुकाएर त्रिवेणी–दुम्किबास सडकलाई प्राथमिकतामा राख्नु अपरिहार्य देखिन्छ।