शेरबहादुर सार्की
बाजुरा, चैत २४ गते । चिसो छल्न बेँसी झरेका बाजुराका भेडीगोठ गर्मी बढेसँगै पुनः लेक फर्किन थालेका छन्। बाजुराको उच्च हिमाली क्षेत्रमा कात्तिकको पहिलो सातादेखि नै अत्यधिक चिसो सुरु हुन्छ। त्यसैले यहाँका भेडीगोठ चिसो छल्न हरेक वर्ष औल (बेँसी) झर्ने गर्छन्।
चैतको पहिलो सातादेखि बेँसीमा गर्मी बढ्न थालेपछि भेडाबाख्रालाई समस्या हुने भएकाले अहिले ती भेडीगोठ फेरि धमाधम लेकतर्फ फर्किन थालेका हुन्।
बुढीनन्दा नगरपालिका निवासी प्रमिला गुरुङले कात्तिक महिनादेखि उच्च हिमाली भेगमा चिसोसँगै बाक्लो हिमपात हुने भएकाले भेडीगोठलाई बेँसी झार्ने गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “भेडाबाख्राले धेरै चिसो र धेरै गर्मी सहन सक्दैनन्। उनीहरूलाई हिउँदमा बेँसी र वर्षामा लेक उपयुक्त हुन्छ। अहिले बेँसीमा पनि गर्मी सुरु भएकाले फेरि लेक फर्काएका हौँ।”
हिउँदमा औल (बेँसी) तातो हुने भएकाले भेडीगोठलाई चरिचरन गराउन सहज हुने गरेको छ। चैत–वैशाखमा गर्मी बढेपछि पुनः लेकमै फर्काउने गरिएको गुरुङले बताउनुभयो।
भोटे समुदायका पुराना पुस्ताले व्यवसायका रूपमा भेडापालन गर्दै आएका थिए। उनीहरूले हिउँदमा भेडीगोठलाई औल–बेँसी सार्ने गर्थे भने अहिले नयाँ पुस्ताले पनि यो परम्परा निरन्तरता दिएका छन्। उनीहरूले भेडाबाख्रालाई बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह तथा छिमेकी जिल्ला अछाम र डोटीका विभिन्न स्थानमा लैजाने गरेका छन्।
पहिले गाउँबस्तीमा सडक सञ्जाल नहुँदा नुन, तेल, दाल, चामल तथा तरकारीजस्ता दैनिक उपभोग्य सामग्री भेडाबाख्रामार्फत ढुवानी गरिन्थ्यो। त्यसबेला भोटे समुदायले यसबाट मनग्य आम्दानी गर्थे।
तर अहिले अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा पुगेपछि दैनिक उपभोग्य सामग्री गाडीमार्फत घरघरमै पुग्न थालेको छ। यससँगै उनीहरूको आम्दानीको यो परम्परागत माध्यम पनि बन्दजस्तै भएको छ।
प्रमिला गुरुङका अनुसार पहिले भेडाबाख्रामार्फत नुन, तेल, चामलजस्ता सामग्री घरमै पुर्याउँदा राम्रो कमाइ हुन्थ्यो। अहिले गाडीले घरमै सामान पुर्याउने भएकाले भेडीगोठलाई अब व्यवसायभन्दा बढी पालनपोषणका लागि मात्र औल–बेँसी सार्ने गरिएको छ।
जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयका लागि भेडाबाख्रा पालन पुर्ख्यौली पेसा हो। पहिले यही पेसाबाट गाउँबस्तीमा नुन, तेल र चामल ढुवानी तथा बिक्री वितरण गरिन्थ्यो। तर सडक विस्तारसँगै यो व्यवसाय क्रमशः सङ्कटमा पर्दै गएको छ।
पछिल्लो समय भेडापालनमा चरिचरनका लागि आवश्यक वन क्षेत्र अभाव हुन थालेको छ। गाउँबस्तीका अधिकांश वन सामुदायिक वनमा परिणत भएपछि भेडाबाख्रा चराउन कठिनाइ भएको स्थानीयको भनाइ छ।
भेडाबाख्राका लागि ठुलो चरन क्षेत्र आवश्यक पर्ने भए पनि वन सामुदायिक बनेपछि विस्तारै भेडापालन छोड्नुपर्ने अवस्था आउन थालेको छ।
हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीका अनुसार हिमालीमा १३८ भेडीगोठमा ६ हजार, स्वामिकार्तिकमा ११५ परिवारका भेडीगोठमा ८ हजार, जगन्नाथ गाउँपालिकाका १२० परिवारका भेडीगोठमा ७ हजार २९ र बुढीनन्दामा ३ सय भेडीगोठमा झन्डै २० हजारभन्दा बढी भेडाबाख्रा रहेका छन्।
उहाँका अनुसार जिल्लाभर ६७३ भेडीगोठमा झन्डै ४१ हजार २९ भेडाबाख्रा छन्। अघिल्ला वर्षहरूको तुलनामा अहिले भेडापालन गर्नेको सङ्ख्या घट्दै गएको छ।
स्थानीयहरू जागिरको खोजीमा बाहिरिनु र चरिचरन क्षेत्रको अभाव हुनुले पछिल्लो समय भेडाबाख्रा पाल्नेको सङ्ख्या घटेको कार्कीले बताउनुभयो।