नीराजन परियार
चौमाला (कैलाली), चैत २४ गते । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक भोलि (बुधबार) बिहान ९ बजेदेखि विश्वविद्यालयकै परिसरमा आयोजना हुने भएको छ।
विश्वविद्यालयका उपकुलपति प्राडा. सुनिलकुमार जोशीका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसअघिका तीन सभा (सिनेट) बैठकहरू सङ्घीय राजधानीमा भएकोमा, यस पटक पहिलोपटक विश्वविद्यालयकै परिसरमा बैठक बोलाइएको हो।
बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिहरूको मनोनयन तथा अनुमोदन, आर्थिक नियमावली र खरिद नियमावलीजस्ता विषयमा छलफल हुने उपकुलपति जोशीले बताउनुभयो।
त्यसैगरी, विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको शिक्षण अस्पताललाई भविष्यमा कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा पनि बैठकमा विचार गरिने छ।
बैठकमा शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा सचिव, स्वास्थ्य सचिव, चिकित्सक शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मुख्यमन्त्री लगायत १७ जनाको सहभागिता रहने छ । सभाको अध्यक्षता विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीले गर्ने व्यवस्था गरिएको छ।
विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्यापनको तयारी भइरहेको छ। हाल गेटा विश्वविद्यालय सञ्चालनको पर्खाइमा छ।