काठमाडौँ, पुस ७ गते । पछिल्लो केही वर्षयता जापानिज इन्सेफलाइटिस (जेई) बाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
सोमबार परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा पछिल्ला केही वर्षयता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या बढेको देखिएको हो।
सन् २०२३ देखि जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुने दर उकालो लाग्दै गएको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०२३ मा जापानिज इन्सेफलाइटिसबाट सात जनाको मृत्यु भएको थियो । यसैगरी सन् २०२४ मा २५ जना र सन् २०२५ मा ३५ जनाको मृत्यु भएको उहाँको भनाइ छ । सन् २०२५ को डिसेम्बर १० सम्मको तथ्याङ्कअनुसार १७९ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको थियो । डा.गौतमका अनुसार तराइका जिल्लाबाट बढी जापानिज इन्सेफलाइटिस सङ्क्रमण भएको छ ।
लुम्बिनी प्रदेशमा जापानिज इन्सेफलाइटिसबाट ११ जनाको मृत्यु भएको डा.गौतमले जानकारी दिनुभयो । जिल्ला अन्तर्गत सबैभन्दा बढी चितवनमा देखिएको छ । कृषि पेशामा आबद्ध किसानहरू जापानिज इन्सेफलाइटिसबाट बढी जोखिममा छन् ।
कृषिमा आवद्ध भएका ५० प्रतिशतमा जेई पुष्टि भएको छ । मृत्यु हुनेमा १५ वर्षमाथिका ७० प्रतिशत रहेका छन् । मृत्यु भएकामध्ये यो विरुद्धको खोप नलगाएका, ज्येष्ठ नागरिक तथा दीर्घरोगी रहेको डा.गौतमको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “मृत्यु हुने अधिकांश ४० वर्षमाथिका हुनुहुन्छ । मृत्यु हुनेमा नौ प्रतिशत खोप लगाएका हुनुहुन्छ भने बाँकीले खोप लगाउनुभएको छैन ।”
नेपालमा जापानिज इन्सेफलाइटिसका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेका छन् ।
जापानिज इन्सेफलाइटिस कस्तो रोग हो ?
डा.गौतमका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।
यो रोग जुन सुकै उमेरका मानिसाई लाग्न सक्छ, तर १५ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने गर्छन् ।
उहाँ भन्नुहुन्छ, “जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोइबाट हुने गम्भीर प्रकारको सङ्क्रामक रोग हो । यो रोगले स्नायुमा असर पुर्याइ जीवभर अङ्गभङग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने गर्छ ।”
सङ्क्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे सङ्क्रमित भई सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्ने गर्छ ।
तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।प्रत्येक तीन जना मध्ये एक जनाको मृत्यु हुन्छ भने एक जना अपाङ्गता बनाउँछ । यो रोगको यसको मृत्युदर उच्च रहेको छ । यसको मृत्युदर ३३ प्रतिशत छ। उहाँका अनुसार जतिछिटो उपचार गर्यो यसको मृत्युदर घटाउन सकिन्छ । ढिलो अस्पताल पुग्ने कारणले गर्दा पनि कतिपयको मृत्युहुने गर्छ । भाइरसजन्य रोग भएकाले यो रोगको लक्षणका आधारमा उपचार गरिन्छ ।
लक्षण
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुनेक, कमपन हुन, पक्षाघात हुने यसको प्रमुख लक्षण हुन । रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ ।
बच्ने उपाय
यो रोगबाट बच्ने उपाय भनेको जेई विरुद्धको खोप लगाउनु र लामखुट्टेको टोकाइबाट बच्नु रहेको छ । हाँस, कुखुरा, सुँगुर, बङ्गुर, जस्ता घरपालुवा चरा चुराचुरुङ्गी तथा जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित रहन उहाँको सुझाव छ ।
घर बाहिर निस्कँदा, खेत बारीमा काम गर्दा पूरा बाहुला भएका लुगा लगाउन उहाँको अनुरोध छ । उहाँले भन्नुभयो, “यो रोगबाट बच्न घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पूरी दिने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ ।”
यो रोगबाट बचाउन सरकारले राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी १२ महिना पुगेका बालबालिकालाई जेई विरुद्धको खोप निःशुल्क लगाउँदै आएको छ । खोप लगाउन छुटेका १५ महिना मुनिका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन डा.गौतमको सुझाव छ ।