• ७ पुस २०८२, सोमबार

'पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ'

blog

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साह । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, पुस ७ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले निर्वाचन लोकतन्त्रको आधारशिला भएको बताउँदै अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

उहाँले सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै आवधिक, स्वच्छ र निष्पक्ष निर्वाचनबिनाको लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभयो । आधुनिक लोकतान्त्रिक व्यवस्थामा सत्ताको वास्तविक स्रोत सम्प्रभु जनता भएको र जनताले आफ्नो मताधिकारमार्फत राज्यसत्ताको प्रयोग गर्ने उहाँले उल्लेख गर्नुभयो।

साहले हाल अपनाएको मिश्रित निर्वाचन प्रणालीमा रहेका गम्भीर कमजोरीहरूतर्फ ध्यानाकर्षण गराउँदै प्रत्यक्ष निर्वाचित प्रणाली अत्यन्त खर्चिलो भएको, अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो। महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारू तथा विपन्न वर्गको सहभागिता सहज नहुने, निर्वाचन क्षेत्र निर्धारणमा असमानता देखिने तथा साना दलहरूको अस्तित्व नै सङ्कटमा पर्ने समस्या रहेको उहाँको भनाइ छ।

त्यस्तै, समानुपातिक सूची प्रणालीमा समेत विभिन्न विकृति र विसङ्गति व्याप्त रहेको उल्लेख गर्दै उहाँले वर्तमान प्रणालीले समावेशी लोकतन्त्रको मर्म पूरा गर्न नसकेको धारणा राख्नुभयो।उहाँका अनुसार यी सबै कमजोरीलाई सम्बोधन गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै नेपालको लोकतन्त्रलाई समावेशी, न्यायपूर्ण र सुदृढ बनाउने सही बाटो हो। विश्वका करिब ७२ मुलुकले समानुपातिक प्रतिनिधित्व प्रणाली अपनाइसकेको उल्लेख गर्दै साहले यस प्रणालीले सबै वर्ग–समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने बताउनुभयो।

पूर्ण समानुपातिक प्रणालीले महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारू तथा अल्पसङ्ख्यक समुदायको सहभागिता बढाउने, मत खेर जाने सम्भावना घटाउने, निर्वाचन खर्च कम गर्ने तथा धाँधलीको सम्भावना न्यून गर्ने उहाँको दाबी छ। यसले समावेशी लोकतन्त्रको सिद्धान्तलाई व्यवहारमा उतार्न सहयोग पुग्ने पनि उहाँले बताउनुभयो।

सूचीमा आधारित पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत पिछडिएका क्षेत्र, वर्ग, समुदाय तथा विज्ञहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी स्पष्ट र बाध्यकारी कानुनी व्यवस्था आजको आवश्यकता भएको साहको जोड छ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै समावेशी, समान र सशक्त लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उहाँले यसतर्फ राज्य र राजनीतिक दलहरू गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।