रमेश विश्वकर्मा
गुल्मी, चैत २४ गते । गुल्मीको तम्घास धागीथुमस्थित नेपाली सेनाको श्री रामवाण गुल्मले आफ्नो २३ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा वर्षकै उत्कृष्ट जवान र विभिन्न खेलकुद विधाका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
यस वर्षको ‘उत्कृष्ट जवान’ का रूपमा सौगात सुनार र खेलकुदका विभिन्न विधामा प्रथम हुने दुई वटा सैन्य मुख (सेमु) लाई पुरस्कृत गरिएको सहायक गुल्मपति आर्जन रानाले जानकारी दिनुभयो ।
श्री नम्बर २२ बाहिनी अड्डा बुटवलका बाहिनीपति सहायक रथी बिमलराज शर्माले दीप प्रज्वलन गरी समारोहको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सहायक रथी शर्माले यस्ता कार्यक्रमले नेपाली सेना, नागरिक समाज र प्रशासनबिचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सकलदर्जालाई पेशागत दक्षता अभिवृद्धि गर्दै नेतृत्व विकास र उच्च मनोबलका साथ अनुशासित ढङ्गले राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।
बाहिनीपति शर्माले गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गुल्मले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गर्नुभयो । साथै, जिल्लामा आइपर्ने विपद्का घटनामा उद्धार कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गरी शीघ्र प्रभावकारी योजनाका साथ लाग्न उहाँले सुझाव दिनुभयो ।
समारोहमा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख तथा सैनिक अधिकृतको उपस्थिति थियो ।
रामवाण गुल्मका गुल्मपति सुवाष थापाले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै गुल्मले आफ्नो जिम्मेवारी पूर्ण बफादारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तालुक अड्डाको आदेशलाई अक्षरसः पालना गर्दै गुल्मलाई थप अब्बल साबित गर्न आफूहरू कटिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय सेवा दल (एनसीसी) मा आबद्ध विद्यार्थीहरू र नेपाली सेनाका जवानहरूले विभिन्न सांस्कृतिक नृत्य तथा कला प्रस्तुत गरेका थिए ।