• २४ चैत २०८२, मङ्गलबार

‘मध्यबिन्दु स्तम्भ’ निर्माण गर्न नक्साङ्कन

blog

‘मध्यबिन्दु स्तम्भ’ निर्माणका लागि नापजाँच तथा नक्साङ्कनको कार्य हुँदै । तस्बिरः ज्ञानु पंगेनी

ज्ञानु पंगेनी

मध्यविन्दु, चैत २४ गते । पूर्व–पश्चिम राजमार्गको मध्य भागमा पर्ने मध्यविन्दुमा स्तम्भ निर्माण कार्यलाई अगाडि बढाउन नापजाँच तथा नक्साङ्कनको कार्य सुरु गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत डण्डा–चोरमारा बिचमा पर्ने वन क्षेत्रमा ‘मध्यबिन्दु स्तम्भ’ निर्माणका लागि नापजाँच तथा नक्साङ्कनको कार्य सुरु गरिएको हो । स्तम्भ निर्माणको प्रारम्भिक चरणका रूपमा भू–नापजाँच तथा नक्सा तयारी कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको करिब १०२८ किमी दूरीको ठिक मध्यबिन्दु (५१४ किमि) पूर्वमा मेची पुल र पश्चिममा गड्डाचौकीबाट बराबर पर्ने, नारायणगढ–बुटवल सडक खण्डको डण्डा–चोरमारा जंगलबिचको यो ऐतिहासिक स्थान अब आफ्नो पहिचानसहित तयार हुनेछ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्ड र मध्यविन्दु नगरपालिकाको लगानीमा ‘मध्यबिन्दु स्तम्भ’ बनाउन लागिएको हो । आयोजनाको ८० र नगरपालिकाको २० प्रतिशत लगानी रहेको छ ।

२०८३ असार १४ गतेभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी बीटी कन्स्ट्रक्सन, सर्दी विनयी त्रिवेणीसँग ठेक्का सम्झौता भई काम सुरु गरिएको नगरपालिकाका इन्जिनियर विवेक पोखरेलले जानकारी दिनुभयो । करिब ३५ लाख रुपियाँ (३४,९१,८७१.०२) लागतमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको पोखरेलले बताउनुभयो ।

‘मध्यबिन्दु स्तम्भ’ लाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न संरचनाहरू तयार गरिने छन् । स्तम्भमा मध्यविन्दु सूचित गर्ने जानकारी, राष्ट्रियता झल्कने पहिचानसहित विश्रामस्थल समेत निर्माण गरिनेछ ।

पूर्व–पश्चिम राजमार्गकै मध्यभाग भएकाले ‘मध्यबिन्दु स्तम्भ’ जिल्लाकै एउटा चिनारी र पर्यटकीय सम्भावनाको दृष्टिले पनि महत्वपूर्ण क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो । स्तम्भ निर्माणपछि यात्रु तथा पर्यटकका लागि आकर्षक विश्रामस्थलका रूपमा विकास गर्न पालिकाले थप योजनाहरू बनाउने अधिकारीले बताउनुभयो ।

मध्यभाग पर्ने भएकाले ‘मध्यविन्दु’ नामकरण गरी यहाँको मध्यविन्दु नगरपालिका बनेको हो भने, यसै नामलाई जोडेर धेरै सङ्घसंस्थाको नामकरण समेत गरिएको छ ।