• २४ चैत २०८२, मङ्गलबार

डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुने

blog

कृषि विद्यालयका लागि चारकोठे भवनको शिलान्यास गर्नुहुँदै पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत २४ गते । बाँकेको डुडुवा गाउँपालिकाले वडा १ र २ अन्तर्गत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ ।

उक्त क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि स्टेचु अफ शिवः, कृषि विद्यालय, पार्क लगायतका योजना निमार्ण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिको अति दुर्गम तथा बाढी प्रभावित क्षेत्रलाई पर्यापर्यटनको रुपमा चिनाउन त्यस क्षेत्रको विकास गर्न लागिएको हो ।

कृषि विद्यालयका लागि चारकोठे भवनको निमार्ण कार्य सुरु गरिएको छ । केही दिनअघि गाउँपालिका अध्यक्ष चौधरीले चार कोठे भवनको शिलान्यास गर्नुभएको हो ।

डुडुवा-२ स्थित पशुपति माध्यमिक विद्यालयअन्तर्गत रहने गरी कृषि विषयको अध्ययन अध्यापनका लागि भवन निमार्ण गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो । करिब रु ७० लाखको लागतमा निमार्ण सुरु भएको भवन असार मसान्तसम्म निमार्णकार्य सम्पन्न हुने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर शुरेन्द्र वर्माले जानकारी दिनुभयो ।