गोरखापत्र अनलाइन
मकवानपुर, वैशाख २९ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उभौली पर्व र बुद्धजयन्ती २५६९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले सोमबार छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै प्रदेशवासीलगायत सबैमा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।
"प्रकृतिका पूजारी किरात समुदाय अन्तर्गतका सुनुवार, राई, लिम्बू र याक्खा जातिको पवित्र पर्व उभौलीको पावन अवसरमा सम्पूर्ण प्रदेशवासीहरू तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली विशेषगरी किरात समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र सम्मृद्विको हार्दिक शुभकामना व्यक्त गर्दछु", उहाँले भन्नुभएको छ ।
कृषिजन्य उत्पादन राम्रो होस्, दैवीप्रकोप र विपत्तिहरू नआउन्, सबैमा सुस्वास्थ्य, सुख र शान्ति होस् भनी पूजा गरेर उभौली पर्व मनाइन्छ । "उभौली पर्वले केवल मौसमको परिवर्तन र उभो अर्थात् लेकतिरको यात्रालाई मात्र सङ्केत गर्दैन, यसले पुर्खाप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान र सामाजिक एकताको गहिरो सन्देश पनि बोकेको हुन्छ", उहाँले सन्देशमा भन्नुभएको छ।
यो पर्व किरात समुदायको सांस्कृतिक पहिचान, मेलमिलाप, चाडपर्वप्रतिको निष्ठा र सहअस्तित्वको दर्शन झल्काउने महत्वपूर्ण परम्परा हो । यो पर्व किरात समुदायले आफन्त भेटघाट, खानपान, शुभकामना आदानप्रदान तथा नाचगान गरेर हर्षाेल्लासका साथ मनाउने गर्दछन् ।
विविधता बोकेका सम्पूर्ण जातजाति र समुदायका हाम्रा मौलिक चाडपर्वहरूले समाजमा प्रेम, मेलमिलाप, आपसी सद्भाव, सहिष्णुता र विविधतामा एकताको भावना बलियो बनाउने काम गरेका छन् । देवकोटाले मौलिक पर्व र संस्कृतिको संरक्षण र प्रवर्धनमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ ।
यसैगरी आज परेको बुद्धजयन्तीको अवसरमा पनि प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश जारी गर्नुभएको छ । "शान्तिका अग्रदूत, बौद्ध धर्मका प्रवर्तक, ज्ञान र करुणाका स्रोत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यस पवित्र दिन हो" उल्लेख गर्नुभएको छ।
वैशाख पूर्णिमाको दिन चैत्य, गुम्बा र विहारहरूमा बिशेष प्रार्थना, ध्यान, पूजाअर्चना र प्रवचनलगायतका विविध कार्यक्रमहरू गरी भगवान बुद्धप्रति श्रद्धाभाव प्रकट गरिन्छ । आजको दिनलाई विश्व शान्तिको प्रतीक बोकेको दिनको रूपमा लिइन्छ । बुद्धले दिनुभएको अहिंसा, करुणा र समता जस्ता अमूल्य सन्देश मानव जगतलाई सुमार्गमा डोर्याउने आधारशिला हुन् । शान्तिका दूत भगवान गौतम बुद्धको जन्म नेपालमा हुनु सबैका लागि गौरबको कुरा भएको उहाँले सन्देशमा भन्नुभएको छ ।
बुद्धको शिक्षालाई आत्मसात् गर्दै सभ्य, सहिष्णु, समावेशी र समृद्ध समाज निर्माणमा एकजुट हुने दृढ सङ्कल्प हामी सबैमा जागृत होस् भन्ने कामना गर्दछु, प्रमुख देवकोटाले सन्देशमा भन्नुभएको छ ।
"विश्व परिवेशमा भइरहेका अशान्ति, हतियार होड, द्वन्द्व, युद्ध र युद्धउन्मुख परिदृश्यले बुद्धमार्गको अपरिहार्यताको बोध गराएको उहाँले उल्लेख गर्नुभएको छ। भगवान् बुद्धको आदर्शले सबैलाई शान्ति, सत्य, प्रेम, संयम र सदाचारको बाटोमा अग्रसर हुने प्रेरणा प्रदान गरोस्" देवकोटाले सन्देशमा भन्नुभएको छ ।