• २७ मङ्सिर २०८२, शनिबार

दुर्गाको तेस्रो कृति सार्वजनिक

blog

पुस्तक सार्वजनिक कार्यक्रम ।

सिन्धुलीमाढी, मङ्सिर २७ गते । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–४ ढकालगाउँका कवि दुर्गादेवी ढकालको तेस्रो कृति भजन तथा कविता सङ्ग्रह  ‘बुढ्यौलीको कलम’ शनिबार सार्वजनिक गरिएको छ । 

साहित्यकार रमेश मोहन अधिकारी, बुढ्यौली साहित्य प्रतिष्ठान सिन्धुलीका अध्यक्ष शम्भु गजुरेल, उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद ढकाल, वरिष्ठ पत्रकार शेषराज दाहाल, कवि जानुका अन्जान गुरूङ  र कवि दुर्गादेवी ढकालले संयुक्त रूपमा कृति विमोचन गर्नुभएको हो । 

कवि ढकालका यसअघि स्मृति पुस्तक प्रेमगंगा (२०७४) र काव्यसंग्रह भूस्वर्ग हो सिन्धुली (२०८१) प्रकाशित छन् । उहाँको संस्मरण सङ्ग्रह प्रकाशन्मुख छ । २००४ मङ्सिर २७ गते सिन्धुलीको चपौलीमा जन्मनुभएकी कवि ढकालले विद्यालय शिक्षा आर्जन गर्ने अवसर नपाए पनि घरमै संस्कृत शिक्षा लिनुभएको थियो ।

कवि ढकालको ७९ औं जन्मोत्सवको अवसरमा उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठान र बुढ्यौली साहित्य समाज सिन्धुलीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा अतिथि तथा उपस्थित साहित्यकारले कविको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको थियो । समीक्षक तुलसीप्रसाद ढकालले सार्वजनिक पुस्तक र कविको लेखकीय पक्षबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा कवि ढकाल तथा अन्य कविले सार्वजनिक पुस्तकका केहि कविता वाचन गर्नुभएको थियो । कवि जानुका अन्जान गुरूङ, श्याम पुलामी, कृष्णप्रसाद बराल सुकुम्बासी, शम्भु गजुरेल, लोकेन्द्र डहरे, केशव अधिकारी, केशवप्रसाद फुयाल, गोविन्द काफ्ले, सोमिता खड्का, राधेशप्रसाद पोखरेललगायतले कविता, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।