• १५ असार २०८१, शनिबार

नेता र कार्यकर्ताबीच तीव्र प्रतिस्पर्धा

blog

राममणि दाहाल 

हेटौँडा, कात्तिक २८ गते । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ मा विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका सहकर्मीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिनिधि सभा सदस्यका लागि एक जना स्वतन्त्र र नौ जना दलका गरी १० जना उम्मेदवार रहेको सो क्षेत्रमा विगतमा नेकपा (एमाले)का नेता रहेका विरोध खतिवडालाई उतिखेर आफ्नै कार्यकर्ता रहेर सहयोग गरेका महेशकुमार बर्तौलाले कडा चुनौती दिनुहुँदै छ।

एमाले छाडेर नवगठित नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य खतिवडा र विद्यार्थी राजनीति छाडेर पार्टी राजनीति प्रवेश गरेसँगै एमालेको बागमती प्रदेश उपमहासचिवको जिम्मेवारीमा रहेका बर्तौलाबीचको प्रतिस्पर्धाले यस क्षेत्रमा धेरैको ध्यान खिचेको छ। 

अघिल्लो निर्वाचनमा खतिवडालाई सोही निर्वाचन क्षेत्रबाट जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बर्तौला अहिले खतिवडाले पार्टी परिवर्तन गरेसँगै खतिवडासँगै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। त्यसैले अहिले एमालेका उम्मेदवार बर्तौलाले “म खतिवडासँग प्रतिस्पर्धा गर्न गएको होइन, उहाँ मसँग प्रतिस्पर्धा गर्न आउनुभएको” भन्न थाल्नुभएको छ।

चार पटक सांसदमा निर्वाचित खतिवडा पाँचौँ पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने प्रयासमा हुनुहुन्छ भने उता बर्तौलाको यो संसदीय निर्वाचनको पहिलो अनुभव हो। बर्तौला खतिवडालाई २० वर्ष जनप्रतिनिधि भएर जनताको पक्षमा काम गर्न नसकेको र घरमा आगो लगाएर मन्त्री खान गएको आरोपसँगै खतिवडालाई पाहुना उम्मेदवारको संज्ञा दिएर मतदाता आकर्षित गर्न लाग्नुभएको छ।

उता खतिवडाले बर्तौलालाई वडाध्यक्षमा उम्मेदवार भएमा सहयोग गर्ने बताउँदै आफूले विगतमा गरेका कामका आधारमा जनताले मत दिने दाबी गर्दै आउनुभएको छ। बर्तौलाले अबको पालो युवा भनेर मत माग्दै गर्दा खतिवडाले त्यसको प्रतिवाद गर्दै प्रश्न गर्ने गर्नुभएको छ, “खोलापारि क्षेत्र नं. १ मा पार्टीभित्रकालाई अवसरबाट वञ्चित गरेर मभन्दा सात–आठ वर्ष जेठो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई ल्याएर उम्मेदवार बनाउने र झापामा केपी शर्मा ओली स्वीकार्य हुने, यहाँ युवा चाहियो भन्ने ?”

एमालेले थापालाई उम्मेदवार बनाएकोमा व्यङ्ग्य गर्दै थापालाई १० करोड रुपियाँमा टिकट बिक्री गरेकोसमेत खतिवडाले आरोप लगाउँदै आउनुभएको छ। यस निर्वाचन क्षेत्रमा खतिवडा र बर्तौलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनालीलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका पराजुलीको सो क्षेत्रको तीन गाउँपालिका र उपमहानगरका केही वडामा प्रभाव रहेकाले बर्तौला र खतिवडाका जितका लागि निर्णायक बन्ने देखिएको छ। नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका पराजुलीले कांग्रेसको बढी मत पाउँदा बर्तौलालाई सहज हुने आकलन गरिएको छ।

उक्त निर्वाचन क्षेत्रमा पर्ने मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकासहित नगरका केही वडा पराजुलीको प्रभाव क्षेत्र भएको र सो क्षेत्रबाट पराजुलीले कांग्रेसको मत बढी लैजाने देखिन्छ। साथै पुराना दलहरूले केही गर्न नसकेको र भ्रष्टाचार र सुशासनका लागि काम गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्ने बताउँदै आएकाले पुराना दलहरूसँग असन्तुष्टसँगै स्वतन्त्र मत पराजुलीले राम्रै पाउने अनुमान छ। तर, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उक्त क्षेत्रका ६२ वटा वडाका वडाध्यक्षले पाएको मतलाई आधार मान्दा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका खतिवडा अगाडि देखिनुहुन्छ। 

लामो समय कांग्रेसको राजनीति गरेर कांग्रेस त्यागी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बन्नुभएका पराजुलीका कारण पनि यो क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ र यसैले जित्छ भन्ने अनुमान लगाउने अवस्था छैन। एकीकृत समाजवादीबाट गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा उम्मेदवार बनेकाहरूले करिब तीन हजार मत पाएको र खतिवडाकै भनाइमा सो क्षेत्रमा एकीकृत समाजवादीको चारदेखि पाँच हजार मत रहेको छ।

उक्त क्षेत्रमा कांग्रेसका वडाध्यक्षहरूले ३४ हजार २४०, एमालेका वडाध्यक्षहरूले ३६ हजार ८६६, नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षहरूले २२ हजार ३२२ र राप्रपाका वडाध्यक्षले एक हजार ३३६ मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले कांग्रेसको बढी मत काट्ने, माओवादी केन्द्रको सबै मत खतिवडालाई नजाने र युवाको मत आफूलाई बढी आउने भन्दै एमालेले बर्तौलाले जित्ने दाबी गर्दै आएको छ। 

तर स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका वडाध्यक्षहरूले पाएको मत र एमालेका वडाध्यक्षहरूले पाएको मतको ठूलो अन्तर भएकाले बर्तौलाले विजयी हुन ठूलै कसरत गर्नुपर्ने देखिन्छ।