प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख ७ गते । रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ । ती दुईमध्ये पनि कार्यालय प्रमुख दरबन्दी अनुसार प्रशासनको उपसचिव नभएको कारण सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयको गुनासो छ ।
निमित्त कार्यालय प्रमुख तथा लेखा अधिकृत बाहेक २० जना करारका कर्मचारीबाट कार्यालय सञ्चालन भएको छ । रौतहट र सर्लाही कार्य क्षेत्र भएको यस कार्यालयको वार्षिक बजेट झन्डै ८५ करोड रहेको निमित्त कार्यालय प्रमुख सञ्जयकुमार मिश्रले बताउनुभयो । आर्थिक वर्ष २०८१-०८२ मा टेन्डर प्रक्रिया प्रक्रिया मार्फत सञ्चालन हुने योजना ३२ वटा तथा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजना १ सय २० वटा रहेको कार्यालयले जनाएको छ ।
टुक्र्याउनु पर्ने बाहेक अधिकांश योजनाको सम्झौता भई कार्य अघि बढे पनि स्थायी कर्मचारी नभएको कारण कार्य सम्पादनमा असर परिरहेको निमित्त कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।
स्थायी कर्मचारी नहुँदा हरेक कामको आफैले अनुगमन गर्नुपर्ने बाध्यता समेत रहेकोले कार्यालयको सेवा प्रवाहमा समस्या आइरहेको बताउनु हुँदै निमित कार्यालय प्रमुख मिश्रले स्वीकृत दरबन्दी अनुसार कर्मचारी व्यवस्थापनमा मन्त्रालयले चासो लिनु पर्ने बताउनुभयो ।
कार्यालयले मठ मन्दिर सौन्दर्यीकरण, धर्मशाला विवाह भवन निर्माण, ताल पोखरी सौन्दर्यीकरण पर्यटकिय क्षेत्रको सौन्दर्यीकरण लगायतका क्षेत्रमा काम गरिरहेको जनाएको छ।
कर्मचारी अभावमा दरबन्दी अनुसारको कार्यालय प्रमुख खटाउन नसकेको स्वीकार्नु हुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनकपुरधामका सचिव जयकुमार घिमिरेले रौतहट र सर्लाहीबाट यस विषयमा धेरै गुनासो आइसकेकोले केहि दिनमै दरबन्दी अनुसारको कार्यालय प्रमुख सहित अन्य कर्मचारी मन्त्रालयले खटाउने तयारी गरिरहेको बताउनुभयो ।