काठमाडौँ, पुस २ गते । नेपालले एसिसी यु–१९ एसिया कप क्रिकेटमा जितबिहिन बनेको छ ।
यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।
दुबईस्थित द सेभेन्स रङ्शालामा जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाईले सर्वाधिक ६१ रन बनाउनुभयो । यस्तै ओस्मान सदतले २८, फैसल सिनोजादाले १३, कप्तान महबुब खान र अजिजुल्लाह मियाखिलले अविजित ११/ ११ रन बनाउनुभयो ।
बलिङमा नेपालका अविशेक तिवारीले दुई तथा विपिन शर्मा र चन्दन रामले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रन बनायो ।
नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाउनुभयो । त्यस्तै चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाउनुभयो ।
अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिनुभयो । अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले दुई, दुई विकेट झार्नुभयो ।