चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ७ गते। ताप्लेजुङ प्रहरीले चोरी, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरिएका एक व्यक्तिलाई एघार वर्षपछि पक्राउ गरेको छ। उक्त मुद्दामा ताप्लेजुङ जिल्ला अदालतबाट दोषी ठहरिएका जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका ४४ वर्षीय तेजकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार गाउँमै लुकिछिपी रहेको अवस्थामा लिम्बूलाई शनिबार पक्राउ गरिएको हो। पक्राउ परेका लिम्बूलाई आइतबार जिल्ला अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशपछि फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।
बस्नेतका अनुसार लिम्बूले २०७० साल माघ धारिलो हतियार खुकुरी देखाई एक ३६ वर्षीया महिलाको घरमा लुकाई राखेको एक लाख रुपियाँ नगद चोरी गरेका र नगद चोरी गरेपछि ती महिलालाई जबरजस्ती करणी गर्न खोजेका थिए। ज्यान लिनेसम्मको धम्की दिँदै जबरजस्ती करणी गर्न खोज्दा पीडित महिलाले चिच्याएपछि महिलाकी देवरले थाहा पाएका र घटनास्थल पुगेका देवर समेतलाई ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी लिम्बू फरार भएका थिए।
प्रहरीका अनुसार त्यसबेला घटना घटाई फरार भएका लिम्बू कतार र मलेसियामा रोजगारी गर्न गई फर्केर आएपछि झापाको दमकमा लुकिछिपी बस्दै आएका थिए। दमकबाट चार–पाँच दिनअघि मात्र ताप्लेजुङ आएको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा लिम्बूलाई गाउँबाटै प्रहरी पक्राउ गरेको हो।
यता लिम्बू उपर ज्यान मार्ने, जबरजस्ती करणी उद्योग र चोरी मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले २०७६ साल जेठ २८ गते छ वर्ष छ महिना कैद र दुई लाख २० हजार रुपियाँ जरिवाना हुने फैसला गरेको थियो। योसँगै प्रहरीले चालु आर्थिक वर्षको हाल सम्ममा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका २१ जनालाई पक्राउ गरेको जनाएको छ।
उक्त सङ्ख्यामा फरार प्रतिवादीलाई पक्राउ गरी कुल १७ वर्ष नौ महिना चार दिन कैद भुक्तान र ११ लाख ५३ हजार ५५८ रुपियाँ जरिवाना रकम असुल गर्नका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो। फरार प्रतिवादीलाई पक्राउ गर्ने र कैद भुक्तान तथा जरिवाना असुल गराउने अभियानलाई जारी राखिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो।
 
                                 
                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                