• १६ चैत २०८२, सोमबार

रुपैडिहा बसपार्कमा नेपाली यात्रु ठगी र लुटपाटको शिकार

blog

स्वदेश फर्किने क्रममा भारतको रुपैडिहास्थित बसपार्कमा पुगेका नेपाली यात्रु। तस्बिरः सिराजखान

सिराजखान
नेपालगन्ज, चैत १६ गते।
नेपाल–भारत सीमापारी रुपैडिहा रोडवेज बसपार्क क्षेत्रमा नेपाली यात्रुमाथि ठगी, लुटपाट र दुव्र्यवहारका घटना फेरि बढ्न थालेका छन्।

बसपार्कमा राति १२ देखि बिहान ८ बजेसम्म करिब डेढ दर्जन बस आगमन हुने हुँदा विशेषगरी बिहान ३ बजेतिर दलालहरूको सक्रियता उच्च देखिएको छ। भारतबाट नेपाल फर्किने यात्रुहरूले राति बसपार्कमा असुरक्षित अनुभव गर्ने गरेका छन्।

सल्यानकपुरका दिलबहादुर थापाका अनुसार, बसपार्कमा सुरक्षा व्यवस्था नहुँदा केही व्यक्तिहरूले यात्रुलाई तानातान गर्ने, रकम माग्ने, धम्की दिने र डराउने जस्ता क्रियाकलाप गर्दै आएका छन्।

उहाँले भन्नुभयो, “नेपाल–भारत सीमा बिहान ६ बजेपछि मात्र खुल्ने भएकाले राति रुपैडिहा बसपार्क पुग्ने नेपालीहरु निकै असुरक्षित छन्।”

अत्यन्तै राति बसपार्क पुग्ने यात्रुहरूका मोबाइल चोरी, जेब काटिने र सामान हराउने जस्ता घटनाहरू दिनदिनै बढ्दै गएको गुनासो छ। अमृतसरबाट फर्किएका कालिकोटका रमेश रावल ले केही अज्ञात व्यक्तिहरूले उनको मोबाइल र रकम जबर्जस्ती लिएर लगेको बताउनुभयो।

यसअघि केही समयअघि होटल व्यवसायी संघ बाँके का अध्यक्ष भिमलाल कंडेल नेतृत्वमा पुगेको टोलीले भारतीय प्रहरी र एसएसबीसहितका सुरक्षा अधिकारीसँग भेटेर दलाल र गुण्डाहरूबाट नेपाली यात्रुको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको थियो। तर केही दिनपछि फेरी उस्तै अवस्था देखा परेको छ।

रुपैडिहाका पत्रकार एसके मधेशिया का अनुसार, हालैमात्रै बिहान एक नेपाली यात्रुको झोला हराएको घटना सार्वजनिक भएको छ भने मोबाइल चोरी र सामान हराउने घटनाहरू पनि दिनदिनै बढिरहेको छ।

बसपार्कका सहायक क्षेत्रीय प्रबन्धक रामप्रकाशले प्रहरी परिचालनका लागि लिखित जानकारी दिनुभयो र यात्रुको सुरक्षाका लागि राति दुई जना स्थायी प्रहरी खटाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

अध्यक्ष भिमलाल कंडेल ले गैरकानुनी होटल व्यवसाय र अराजक गतिविधिहरू अटोवालाहरूसँग ५०–५० रुपियाँ लिन प्रोत्साहित भइरहेको उल्लेख गर्दै, दुबै देशका सुरक्षाकर्मीले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।