• १६ चैत २०८२, सोमबार

जनताको आँगनमै पुगेर विकासका योजना तय गरिने

blog

मतदाता समक्ष सांसद श्रीराम न्यौपाने । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत १६ गते ।
तनहुँ क्षेत्र नं. २ मा विकास निर्माणका योजना छनोट प्रक्रियालाई पूर्ण रूपमा जनमुखी र पारदर्शी बनाउन नयाँ अभ्यासको थालनी गरिएको छ । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले ‘हाम्रो योजना, हाम्रो निर्णय’ नारासहित जनसहभागितामूलक विकास अवधारणालाई व्यवहारमा उतार्न ‘जनसंवाद’ अभियान अघि बढाउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत रहनुभएका सांसद न्यौपानेले विकासका योजनाहरू कोठामा बसेर नभई जनताको आँगनमा पुगेर तय गरिने बताउनुभयो ।

सांसद न्यौपानेले भन्नुभयो, “अहिलेसम्म पहुँचका आधारमा योजना बाँड्ने परिपाटी थियो, जसले गर्दा वास्तविक आवश्यकता ओझेलमा पर्थे, अब योजनाहरू जनताकै रोहबरमा पहिचान हुनेछन् र कार्यान्वयनमा पनि स्थानीयकै सक्रिय सहभागिता रहनेछ ।”

यसले विकास प्रक्रियामा पारदर्शिता र जवाफदेहिता थप सुदृढ बनाउने सांसद न्यौपानेको भनाइ छ । अभियानअन्तर्गत हरेक तीन महिनामा नियमित रूपमा निर्वाचन क्षेत्रका विभिन्न पालिका तथा वडास्तरमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिने सांसद न्यौपानेको सचिवालयले जनाएको छ ।

सांसद न्यौपानेका अनुसार पहिलो चरणको ‘सांसद–जनसंवाद’ कार्यक्रम आगामी चैत २३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । सो क्रममा उहाँ स्वयं टोल–टोलमा पुगेर खानेपानी, सिँचाइ, तटबन्ध, सडक, शिक्षा, स्वास्थ्य र रणनीतिक पूर्वाधार विकासका विषयमा जनताको माग तथा सुझाव सङ्कलन गर्नुहुनेछ ।

पहुँचका आधारमा योजना बाँड्ने पुरानो परिपाटीलाई तोड्दै अब जनताकै रोहबरमा आवश्यकता पहिचान गरिने र कार्यान्वयनमा पनि स्थानीयकै सक्रिय सहभागिता रहने उहाँको भनाइ छ । न्यौपानेले भन्नुभयो, ‘‘विकास निर्माणमा स्थानीयको अपनत्व अभिवृद्धि गर्न र वास्तविक समस्याको पहिचान गरी दिगो समाधान पहिल्याउन यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छु ।’’ पहिलो दिन चैत २३ गते घिरिङ गाउँपालिका, २४ गते ऋषिङ गाउँपालिका, २५ गते भिमाद नगरपालिका, २६ गते शुक्लागण्डकी नगरपालिका, २७ गते म्याग्दे गाउँपालिका र २८ गते व्यास नगरपालिकाको वडा नं ५ र ६ मा कार्यक्रम तय गरिएको छ ।

सो क्रममा उहाँ स्वयं टोल–टोलमा पुगेर खानेपानी, सिँचाइ, तटबन्ध, सडक, शिक्षा, स्वास्थ्य र रणनीतिक पूर्वाधार विकासका विषयमा जनताको माग तथा सुझाव सङ्कलन गर्नुहुनेछ । सांसद न्यौपानेले भन्नुभयो, ‘‘यस नवीन पहलले ‘तलदेखि माथिसम्म’ (बटम–अप) विकास अवधारणालाई व्यवहारमा उतार्दै लोकतान्त्रिक पद्धतिलाई जगैदेखि मजबुट बनाउने र तनहुँ–२ लाई जनसहभागिताको नमुना बनाउने अपेक्षा गरेको छु । ’’