• १६ चैत २०८२, सोमबार

गोरखालाई विश्वभरि चिनाउने योजनामा लाग्छु

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत १६ गते । गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभामा निर्वाचित सांसद कवीन्द्र बुर्लाकोटीले गोरखालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी समग्र विकासको योजना अघि सार्ने बताउनुभएको छ । नवनिर्वाचित सांसद बुर्लाकोटीले आफ्नो प्राथमिकता पर्यटन, पूर्वाधार र ऊर्जा विकासमार्फत जिल्लालाई नमुना बनाउने योजना रहेको जनाउनुभएको छ ।   

गोरखाको पालुङटार नगरपालिका–९ का सामान्य परिवारबाट राजनीतिक यात्रामा होमिएका बुर्लाकोटी हाल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत हुनुहुन्छ । उहाँ वैकल्पिक राजनीतिक धारबाट उदाएका नेताका रूपमा चिनिनुहुन्छ । पारदर्शिता, सुशासन र विकासमुखी एजेन्डा बोकेर राजनीतिमा आएका बुर्लाकोटी रास्वपाको संस्थापक सहमहामन्त्रीको जिम्मेवारी समाल्दै महामन्त्री बन्नुभएको हो । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उहाँले प्रतिस्पर्धी ठुला दल कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीलाई भारी मतान्तरले पराजित गर्नुभयो । विजय भएपछि बुर्लाकोटीले भन्नुभयो, “गोरखा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक हिसाबले धनी जिल्ला हो, यसलाई नेपाल चिनाउने केन्द्रका रूपमा विकास गर्ने योजना लिएर अघि बढ्ने बिचार गरेको छु ।’’ विशेष गरी गोरखा दरबार, मनकामना क्षेत्र तथा हिमाली पर्यटनलाई विश्वसामु प्रवर्धन गर्ने योजना बनाएको उहाँले बताउनुभयो । उहाँले बुढीगण्डकी जलविद्युत् आयोजनालाई छिट्टै सम्पन्न गराएर गोरखालाई ऊर्जा उत्पादनको केन्द्र बनाउने दाबी पनि गर्नुभयो । 

जिल्लामा पूर्वाधार विकास अन्तर्गत सडक स्तरोन्नति, स्वास्थ्य शिक्षामा सुधार तथा रोजगारी सिर्जनामा जोड दिने उहाँको योजना रहेको छ । युवा पलायन रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गरी रोजगारीको वातावरण बनाउन आफू लागिपर्ने उहाँको भनाइ छ । स्थानीयवासीले नयाँ राजनीतिक धारबाट गरेको अपेक्षा पूरा गराउन आफू पछि नपर्ने भन्दै उहाँले गोरखाको समग्र विकास गर्न नीतिगत सुधारसँगै क्रमश अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।