पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत १६ गते । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा बिक्रम खनाल सुस्ताबासीको समस्या बुझ्न सुस्ता पुग्नुभएकाे छ। सोही निर्वाचन क्षेत्रमा पर्ने सुस्तामा स्थानीयले भोग्दै आएका विविध समस्या बुझ्न उहाँले स्थलगत जानकारी लिनुभयो।
आइतबार सांसद खनालले स्थानीयबासीसँग विद्यमान समस्याहरूको विस्तृत छलफल गर्नुभयो। स्थानीयहरूले मुख्य रूपमा नारायणी नदीको कटान र वार्षिक डुबानको स्थायी समाधान, लालपुर्जा र नागरिकतासम्बन्धी कानुनी जटिलता साथै शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा रहेका आधारभूत समस्याहरूका बारेमा सांसदको ध्यानाकर्षण गराएका थिए।
सांसद खनालले ती समस्या समाधानका लागि सदन र सरकार दुवै तहमा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सुस्ताको भूमि संरक्षणका लागि भइरहेको तटबन्ध निर्माण कार्यको अनुगमन पनि गर्नुभएको थियो। निर्माणमा देखिएका नदीजन्य पदार्थको अभाव र अन्य प्राविधिक अड्चन समाधान गर्न उहाँले सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय र वडा अध्यक्ष प्रभुनाथ यादवसँग समन्वय गरेर कामलाई तीव्रता दिन आग्रह गर्नुभयो।
सांसद खनालले सुस्ताको माटो र नागरिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै भन्नुभयो, “म यहाँका समस्या बुझ्न आएको हुँ, अब यी समस्याको समाधानका लागि कुनै कसर बाँकी राख्ने छैन।”
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत निर्माणको जिम्मेवारी पाएका केडि कन्ट्रक्सन र कन्ट्याक्ट नेपाललाई ढिलासुस्ती नगरी गुणस्तरीय काम समयमै सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो।