जानु पाण्डे
कपिलवस्तु, वैशाख ७ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । वर्षैभरि तरकारी उत्पादन हुने पकेट क्षेत्रको रूपमा चिनिएको यस ठाउँमा मलको चरम अभाव रहेको छ ।
रामघाट कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णमोहन केवटले नगरपालिकाले हालै वितरण गरेको मलको कोटा अत्यन्त न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "एक पटकमा सात बोरा डिएपी र युरिया अनी ४ बोरा पोटासको कोटा छ । तीनदेखि २२ कट्ठासम्म खेती गर्ने ५ सय कृषक छन् । यस्तो न्यून परिमाणमा मल आएपछि कसरी बाँड्ने ? बाँड्न नमिल्ने हिसाबले मल आउने हुँदा कृषकहरूबाट गाली खानुपर्छ ।"
आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूको अनुगमन भ्रमणका क्रममा कृषकहरूले एक स्वरमा मल अभाव, सिँचाइको कठिनाइ र बजार व्यवस्थापनमा समस्या रहेको गुनासो गर्नुभयो । सिजनको समयमा भारतीय तरकारीको आयातले गर्दा स्थानीय उत्पादनको मूल्य घट्ने र लागत मूल्यभन्दा कममा बेच्नुपर्ने अवस्था आउँछ । हाल टमाटर र बन्दा गोभी बिक्रीमै समस्या भइरहेको समस्या समितिसँग राख्नुभयो ।
समितिका सदस्य वीरबहादुर बलायरले तीन रुपैयाँ केजीमा पनि तरकारी बिक्री नभएपछि बजार व्यवस्थापन गम्भीर समस्या देखिएको बताउनुभयो । "तरकारीको पकेट क्षेत्र भए पनि सिँचाइको व्यवस्था कमजोर छ । जमिनमुनिको पानीको सतह झर्दै गएकाले स्यालो ट्युबवेल जडान गर्न समेत कठिन भएको छ । यो विषयमा समितिको बैठकमा छलफल हुनेछ," उहाले थप्नुभयो ।
प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, रूपा सो.शी. (चौधरी), अनिता नेपाली, अशोक चौधरी, बिजुला रायमाझी, मिना तामाङ, सूर्यकुमारी श्रेष्ठ तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीसहितको टोलीले धान, तरकारी र माछा उत्पादन गर्ने कृषकहरूसँग प्रत्यक्ष भेटघाट गरी समस्या र उपलब्धिहरू सुन्नु भएको थियो ।