• १४ असार २०८२, शनिबार

जिसस रौतहटको वार्षिक समीक्षा सम्पन्न

blog

समीक्षा कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय अधिकारि अमित कुमार यादव । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असार १४ गते ।
आर्थिक वर्ष २०८१/८२  मा रौतहटका पालिकाहरुबाट सञ्चालन भएका कामको प्रगतिबारे जिल्ला समन्वय समिति रौतहटले समीक्षा गरेको छ । समितिको सभा हलमा शुक्रबार सम्पन्न वार्षिक समीक्षा तथा सम्पादित असल अभ्याससम्बन्धी गोष्ठि कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला कुमारी चौधरीले जिल्ला समन्वय समितिले थालेको यो प्रयासको सराहना गर्नुहुँदै यसले पालिकामा विकासको गति बढ्ने, पारदर्शिता कायममा सहयोग पुग्ने तथा स्थानीय सरकार झन जवाफदेही हुने बताउनुभयो ।  

कार्यक्रममा गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले प्रदेश सरकारले योजना सञ्चालन गर्दा स्थानीय सरकारसँग समन्वय नगर्नाले विभिन्न ठाउँमा समस्या हुने गरेकोले स्थानीय सरकार र प्रदेश सरकारबिच समन्वयका लागि जिल्ला समन्वय समितिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समिति रौतहटका जिल्ला समन्वय अधिकारी अमित कुमार यादवले अबको दिनमा जिल्ला समन्वय समिति सक्रिय भएर रौतहटको विकास निर्माणका काममा हातेमालो गर्ने बताउनुभयो । वहांले प्रदेश कानुन अनुसार कार्यालय काम गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारि विनोद कुमार खड्काले जिल्लाको विकासमा जिल्ला समन्वय समिति अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । रौतहटमा पालिकाहरुले आफ्नो वार्षिक कार्यक्रम समेत सार्वजनिक गर्न आनाकानी गरिरहेको अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । आर्थिक वर्षको अन्त्यमा आएर पालिका उपप्रमुखले आफ्नो पालिकाको बजेट हेर्न नपाएको भनेर जिल्ला प्रशासन कार्यालय धाउने अवस्था रौतहटमा विद्यमान रहेको भन्नुहुँदै प्रमुख जिल्ला अधिकारी खड्काले प्रत्येक गतिविधि बेवसाइटमा राखेर सबैको पहुँच पुर्याउनु पर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी खड्काले पालिकामा रहेको न्यायिक समितिलाई सक्रिय पार्न नगर उपप्रमुखहरुलाई आग्रह गर्नुभयो । 
सामान्य झगडादेखि लिएर जग्गा नापजाँच इत्यादिका लागि न्यायिक समितिबाटै निकास खोज्नु पर्ने बताउनु हुँदै प्रमुख जिल्ला अधिकारि खडकाले न्यायिक समिति निष्क्रिय भएकै कारण सामान्य कुरा लिएर सर्वसाधारण  जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धाउनुपरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्याय राय यादवले नगर प्रमुखहरु जिल्ला समन्वय समितिले गर्ने काम कारवाहीलाई बेवास्ता गरेर हिँड्ने गरेको गुनासो पोख्नुभयो ।  

कार्यक्रममा प्रत्येक पालिकाका प्रमुख वा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको एक जना कर्मचारीलाई सहभागिताका लागि पत्राचार गरिएको भए पनि ८ वटा पालिका फतुवा विजयपुर नगरपालिका, माधव नारायण नगरपालिका, वृन्दावन नगरपालिका, मौलापुर नगरपालिका, राजदेवि नगरपालिका, गुजरा नगरपालिका, बौधीमाइ नगरपालिका र गरुडा नगरपालिकाले सहभागिता नजनाएको जिल्ला समन्वय समिति रौतहटका लेखा शाखा प्रमुख विवेक कुमार सहनीले जानकारी दिनुभयो । दुई वटा पालिका कटहरिया र देवाही गोनाही नगरपालिका सहभागी भएर पनि चालु आर्थिक वर्षमा सञ्चालन भएका कामको प्रगतिबारे प्रस्तुतीकरण गरेनन । 

आठ वटा पालिका चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, राजपुर नगरपालिका, इशनाथ नगरपालिका, गढिमाइ नगरपालिका, परोहा नगरपालिका, यमुनामाइ गाउँपालिका र दुर्गाभगवती गाउँपालिकाले  आफ्नो पालिकाको अवस्था, विकास निर्माणका भए गरेका कामको बारेमा आफ्नो प्रस्तुतीकरण राखेको जिल्ला  समन्वय समिति रौतहटले जनाएको छ ।

आफ्नो जिम्मेवारी अनुसार कर्तव्यनिष्ठ भई भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति रौतहटका कर्मचारी तथा सहभागी पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सम्मान गरिएको जिल्ला समन्वय अधिकारी यादवले जानकारी दिनुभयो ।