हामी पतिपत्नी दुवै एकअर्कालाई अति प्रेम गथ्र्यौं । म अत्यन्त पतिभक्त थिएँ र उनी पनि कम्ता थिएनन् पत्नीलाई माया गर्न । “विवाहपछि हतार गर्न हुँदैन, हाम्रो उमेर नै कति भयो र ? रमाइलो गर्नै पुगेको छैन” भनेर आपसी सल्लाहमै केही समय बच्चा नजन्माउने निर्णय गरेका थियौँ । यस्तो निर्णय गरेको पनि तिन वर्ष बितिसकेको थियो । छिमेकीहरू कुरा काट्थे, “छ्या, कस्ती रहिछ ! बिहे भएको यत्रो वर्ष भएर पनि परिवारलाई एउटा बच्चा दिन असमर्थ । धन्न सहेर बसेका छन् तिनका सासूससुरा, उस्तै भए छोरालाई अर्की बिहे गरिदिसक्थे ।” माइती जाँदा साथीहरू जिस्क्याउने गर्थे, “के हो तिम्रो चाला, अहिलेसम्म बच्चा छैन ? कि तिम्रो लोग्ने...?” हाम्रो छरछिमेकको सोच सुनेर मलाई दिक्क लागेर आउँथ्यो– यो समाज आफ्नोभन्दा अरूको चिन्ता गर्दो रहेछ । मेरा मातापिताले बच्चा भएन भनेर पिर गर्न थालेका थिए । सासूससुराको त चिन्ताको सीमा नै थिएन । छोराको सन्तान भएन, दुःख गरेर जोडेको सम्पत्ति अपुताली लाग्ने भयो भन्थे । त्यसैले हामीले अब बच्चा पाउनुपर्छ भन्ने निर्णय गर्यौँ । तर ‘मानिसले बनाउँछ, ईश्वरले बिगार्छ’ भन्ने उखान जस्तो कति प्रयास गर्दा पनि समयमा बच्चा भएन । पाउने बेला रोक्यो भने पनि बच्चा नहुन पनि सक्छ भन्थे कतिपय डाक्टर । हामी दुवैको स्वास्थ्य परीक्षण गरायौँ, सबै ठिकै छ । “धन्दा मान्नु पर्दैन” भन्थे डाक्टर तर अझै गर्भ रहन सकेन । यसोउसो गर्दागर्दै विवाह भएको पाँच वर्ष भयो । धामीझाँक्री लगाए सासूससुराले । मनकामना भाकल गरेँ । साक्षात् भीमेश्वरको भाकल गरेर पञ्चबलि पूजा गरेँ । घरमा सत्यनारायण पूजा लगाएँ । कुनै पनि उपायले काम दिएन । भगवान्ले हाम्रो धैर्यको परीक्षा लिइरहेको छ कि भन्ने पनि लाग्थ्यो हामीलाई । किनकि हामीले प्रकृतिलाई रोक्ने प्रयत्न गरेका थियौँ । सायद त्यसको फल भोगिरहेका थियौँ ।
मेरो सुख देख्न नसक्नेहरू कोही मलाई बाँझी भन्थे । कोही पतिलाई नामर्द भन्थे । बच्चा नभएको हामीलाई, पीर अरूलाई परेको जस्तो देखिन्थ्यो । हामी पतिपत्नीबिच कसिलो मायाप्रीति थियो । एकअर्कासँग पूरा भरोसा र विश्वास थियो । त्यसैले मलाई वा उहाँलाई भड्काउन खोज्दा हामी हाँसेर मात्र टार्ने गथ्र्यौं । हाम्रो एकअर्काप्रति केही गुनासो थिएन । त्यसमाथि हामी दुवैमा केही खराबी छैन भन्ने कुरा डाक्टरी परीक्षणले आश्वस्त पारिसकेको थियो । ज्योतिषीले “सन्तान सुख छ, आत्तिहाल्नुपर्ने छैन, दिन आएपछि हुन्छ” भनेर ठोकुवा गरेका थिए ।
सासूससुराको कचकच सुनेर उनी “अर्को विवाह गर्ने कि क्या हो बुढी” भनेर जिस्क्याउँथे । त्यसो भन्दा मलाई एक किसिमको छटपटी हुन्थ्यो– साँच्चै त्यसो भयो भने ? म अत्यन्त त्रसित हुन्थेँ । मैले मुख निन्याउरो गरेको देखेर उनी हाँस्दै “जिस्केको हो लाटी ! तिमीबाहेक अरूको कल्पना पनि गर्न सक्दिनँ” भन्थे । कोसिस गर्दागर्दै अर्को तीन वर्ष बित्यो । विवाह गरेको १० वर्षसम्म सन्तान नभएपछि लोग्नेले अर्की स्वास्नी ल्याउन पाउँछ भन्ने मैले टोलका दिदीहरूले कुरा गरेको सुनेकी थिएँ । यस्तो सोच आउँदा मन बेचैन भएर छटपटी हुन्थ्यो । श्रीमान् नभएको मौका पारेर मेरो पूर्वप्रेमी बेला बेलामा एक एक थोक निहुँ पारेर घरमा आउँथ्यो । ऊ श्रीमान्को पनि साथी भएकाले खासै नराम्रो शङ्का पनि थिएन घरमा । बच्चा नभएर हामी व्याकुल भएको थाहा थियो पूर्वप्रेमीलाई । सायद यही कारण हो कि नराम्रो नियतले धेरै पटक मलाई छुने कोसिस गरेको थियो । त्यस्तो बेला हपारेर एक एक थोक निहुँ पारेर घरबाट निकालिदिन्थेँ ।
अन्त्यमा एक दिन आवेशमा आएर मैले कठोर निर्णय गर्नु पर्यो– पति सक्षम नै भए पनि, डाक्टरले पनि कुनै खोट छैन भनेको छ, हामीबिच निरन्तर सहबास पनि भइरहेको छ । मैले सन्तानका निम्ति कुनै नाजायज उपायको शरण लिएँ भने पतिलगायत कसैले शङ्का गर्ने ठाउँ पनि छैन । ‘ठुलो पुण्यका लागि सानो पाप गर्नु परेको छ भने त्यो पाप हुँदैन’ भन्ने मैले कहाँ कहाँ सुनेकी थिएँ । “म पतिव्रता महिला, पतिको मप्रतिको अटुट विश्वास र प्रेमलाई ठुलो धोका हुन्छ, म पतीत हुन चाहन्नँ ।” यस्तो अन्तद्र्वन्द्वमा केही दिन बित्यो ।
एक दिन पूर्वप्रेमीको नराम्रो हर्कतलाई मैले निषेध गरिनँ । सायद उसलाई मेरो “हुन्छ” भन्ने सङ्केत मिल्यो क्यारे ! त्यसपछि मेरो शरीरमा खेल्न थाल्यो । त्यसपछि प्रफुल्ल भएर मुस्कुरायो सायद आफ्नो धेरै दिनदेखिको प्रयास सफल भएकोमा । त्यस्तो अक्षम्य काम भयो मबाट, म रुन थालेँ । आफ्नो पतिको असीम प्यारलाई धोका दिएकोमा, पतिको विश्वास तोडेकोमा सिर्फ एक बच्चाका लागि । मैले जघन्य अपराध गरेँ, मलाई ठुलो पाप लाग्ने छ । म धुरु धुरु रुन थालेँ । पूर्वप्रेमीले सम्झाउने प्रयत्न गर्दै “धन्दा नमान, मैले कसैलाई केही भन्ने छैन । यो कुरा हामी दुईबिच मात्र रहने छ” भनेर कसम खाए पनि मेरो मन मानेन । म फेरि सुक्सुकाएँ । “मैले सिर्फ एक बच्चाका लागि यस्तो ठुलो पाप गरेँ । भोलि मेरो बच्चामा तिम्रो अनुहार आयो भने । म त कलङ्किनी साबित हुने छु । मलाई घरबाट निकालिदिने छन् । माइत जाऊँ भने आमाबुवा मरिसके । म त सिधै कोशीमा हामफाल्न गए हुन्छ । मेरो कोही छैन । हरे, मैले के गरेँ होला– सिर्फ एक बच्चाका लागि, सिर्फ सन्तानसुखका लागि ।” म निरन्तर रोएको देखेर उसले पुनः मलाई सान्त्वना दिँदै भन्यो, “तिमीले त्यस्तो धन्दा गर्नै पर्दैन लाटी । म त्यस्तो बेसुरे मान्छे हुँ र ? मलाई पनि त डर छ नि श्रीमतीले थाहा पाउलिन् भनेर । मैले स्थायी बन्ध्याकरण गरेको पाँच वर्ष भइसक्यो ।” यसो भनेर ऊ सरासर बाहिर गयो ।
उसको कुरा सुनेर म झन् जोडले सुक्सुकाउँन थालेँ । किनकि मैले आफ्नो पतिव्रता धर्म गुमाएकी थिएँ केवल एक बच्चाका लागि, सिर्फ सन्तानसुखका लागि, परिवारको वंश जोगाइदिनका लागि । तर त्यो त्याग पनि व्यर्थ भएको थियो ।
संयोगको कुरा, त्यही महिना महिनावारी रोकियो । मलाई छटपटी हुन थाल्यो । “गर्भवती त भएँ तर आफ्नो श्रीमान्को नभएर उसको पो हो कि । आखिर लोग्नेमान्छेको के भरोसा । उसले मलाई ठिक पारेर आफू स्थायी रूपमा असक्षम भएको झुटो कुरा गरेको हो कि ?”
जति जति पेटको बच्चा ठुलो हुँदै आयो, मेरो मनमा अशान्ति बढ्दै गयो । घरमा भने सबै प्रफुल्ल भएर बच्चाको जन्मको प्रतीक्षा गरिरहेका थिए । बच्चा जन्मेपछि अनुहार चाहिँ बाबु या आमाको भएन भने म त सिधै झुन्डिएर मरे भो । मलाई रातदिन यही कुराले पिरोलिरहेको थियो ।
आखिर छोराको जन्म भयो, ढिलो होस् छोरा नै होस् भने जस्तो । घरमा धुमधामसँग खुसियाली मनाए । मेरो मनमा भने अशान्तिको आँधीबेरी निरन्तर आई नै रहेको थियो । यसलाई शान्त पार्न सकिन्छ कि भनेर केही समयपछि मैले श्रीमान्लाई थाहै नदिई डिएनए टेस्ट गर्न दिएँ । ठुलो भएपछि स्पष्ट अनुहार चिनिन्छ र अन्यथा भएमा घरको न घाटको हुन्छु भनेर ।
यसको दुई दिनपछि श्रीमान् अफिस सकेर मुस्कुराउँदै घर आए ।
“किन ढिला भयो आज ?” मैले सोधेँ ।
उनले भने, “तिमीले के जाति टेस्ट गर्न दिएको डाक्टर बाटोमा भेट भएको थियो । उनले तपाईंकी श्रीमतीले टेस्ट गर्न दिनुभएको रिपोर्ट तयार छ, लिएर जानुस् भनेर मलाई क्लिनिकमा लानुभयो । मैले रिपोर्ट ल्याएको छु ।”
त्यो सुनेपछि छाँगाबाट खसे जस्तो भएँ । एकाएक पैतालामुनिको जमिन भासिए जस्तो लाग्यो । अब मेरो पोल खुल्ने भयो, मेरो जिउने यति नै लेखेको रहेछ भन्ने लाग्यो । अक्क न बक्क भएर केही बोल्न सकिनँ । उनले रिपोर्ट हातमा लिएर मलाई दिन हात तेस्र्याइरहेका थिए । मनमनै भीमेश्वरको प्रार्थना गरेँ, “हे प्रभु ! मलाई यो सङ्कटबाट पार गरिदिनुस्, अज्ञानी भनेर मलाई माफ गरिदिनुस् ।”
मलाई अन्यमनस्क देखेर श्रीमान्ले मेरो हातमा रिपोर्ट राख्दै भने, “तिमीले ममाथि विश्वास नगरेको ? हाम्रो प्रेम त्यस्तो कच्चा छ र ? बच्चा मेरै हो । अब ढुक्क भए हुन्छ । ल रिपोर्ट हेर ।”