• २ साउन २०८२, शुक्रबार

एमाले पोलिटब्यूरोमा पदाधिकारी संख्या घटाउने प्रस्तावमाथि छलफल

blog

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक । तस्बिरः केशब गुरुङ

काठमाडौँ, साउन २ गते। नेकपा (एमाले) को पोलिटब्यूरो बैठकमा १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्तावमाथि छलफल भएको छ। 

एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार १५ सदस्यीय पदाधिकारी, २५१ सदस्यीय केन्द्रीय कमिटी र यसको एक तिहाइ पोलिटब्यूरो रहने गरी भएको प्रस्तावमाथि छलफल भएको छ। 

उहाँले भन्नुभयो, “कतिपय विषय सचिवालयको प्रस्तावको रुपमा प्रस्तुत गरिएको छ। पार्टीमा तीन तहको लियर मात्रै बनाउने। त्यसमा केन्द्रीय सचिवालय, केन्द्रीय पदाधिकारीको लेयर हटाउने र १५ सदस्यीय पदाधिकारी र २५१ केन्द्रीय कमिटी र त्यसको एक तिहाइको पोलिटब्यूरो रहने गरी तीन तह निर्माण गर्ने कुरा प्रस्ताव गर्नुभयो। यसमा धेरैले बोल्नुभएको छैन। स्थायी समितिका सदस्यले बोल्नेक्रम जारी छ। आज सात जनाले आफ्नो राय प्रस्तुत गर्नुभएको छ।”

उहाँले पार्टी सदस्यतासम्बन्धी सङ्गठित सदस्य र पार्टी सदस्य गरी दुई किसिमको सदस्यता प्रस्ताव गरिएको छ। 

उहाँले भन्नुभयो, “अहिलेसम्म हामीले जारी गरेको पार्टी सदस्यतासम्बन्धी संगठित सदस्यता जुन थियो। यसमा दुई खाले पार्टी सदस्यता प्रस्ताव गरिएको छ। एउटा पार्टीको सङ्गठित सदस्यता र अर्को पार्टी सदस्यता।” समर्थक र शुभचिन्तकलाई पार्टी सदस्यताका विषयमा छलफल भएको उहाँको भनाइ छ। 

उहाँले बैठकमा विधान अधिवेशनको तयारी, यससँग सम्बन्धित प्रश्न एवम् समसामयिक विषयमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विस्तृतमा जानकारी गराउनुभएको बताउनुभयो। 


उहाँले भन्नुभयो, “नेकपा (एमाले) को पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आजको बैठक सुरुवात गर्दै अहिलेको समसामयिक राजनीतिक परिस्थितीमा खासगरी मूलतः विधान अधिवेशनको तयारीको सन्दर्भमा र विधानका सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुका सम्बन्धमा विधानका विषयलाई लिएर निर्माण गर्न खोजिएका गलत भाष्यका सन्दर्भमा उहाँले पार्टी बैठकलाई विस्तारपूर्ण जानकारी गराउनुभयो। साथै अहिले विकसित नेपाली राजनीतिक घटनाक्रमका बारेमा, सरकारका बारेमा उहाँले महत्त्वपूर्ण भनाइहरु राख्नुभयो र उहाँले निर्देशन गर्नुभयो र अनुरोध गर्नुभयो।”

बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। 

उहाँका अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण एवम् राजनीतिमा सक्रियताको विषय पोलिटब्यूरो बैठकमा प्रवेश भएको छ। यो विषय गम्भिर भएको तथा यस विषयमा उचित समयमा निर्णय लिइने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र उहाँ पार्टीमा सक्रिय हुने भन्ने हिजो पनि त्यो विषयले प्रवेश पाएको छ। आज पनि त्यो विषयले प्रवेश पाएको छ। राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्ति, परमाधिपति भइसकेको व्यक्ति, देशको सर्वोच्च पदमा पुगेको व्यक्ति, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय हो। पार्टीले उचित समयमा निष्कर्ष निकाल्छ र निर्णय लिन्छ।”


उहाँले विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको अवस्थालाई हटाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। तर, छलफल जारी रहेकोले यस विषयमा कुनै निष्कर्ष ननिसकेको उहाँको भनाइ छ। 

आजको बैठकमा स्थायी समितिका सदस्य किरण गुरुङ, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, शेरधन राई, डा. राजन भट्टराई र कर्ण थापाले आफ्नो राय राख्नुभयो। बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। 

यो पनि पढ्नुहोस

एमाले पोलिटब्यूरो बैठक शनिबार बस्ने गरी स्थगित

एमाले पोलिटब्युरो बैठकमा विधान महाधिवेशनबारे छलफल

च्यासलमा एमाले सचिवालय बैठक जारी

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।