काठमाडौँ, साउन २ गते। नेकपा (एमाले)को पोलिटब्यूरो बैठक शनिबार बस्नेगरी स्थगित भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्नेछ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो।
एमालेको विधान महाधिवेशनको पूर्व तयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो।
पोलिटव्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ।