काठमाडौँ, साउन २ गते । मधेस प्रदेशका ८ जिल्लाहरूमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ । हालको अवस्था , समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिकको टोली पठाउने निर्णय भएको हो ।
टोली आइतबार सो क्षेत्रमा पुग्ने छ । शुक्रवार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका कर्मचारीहरू सँग छलफल गरी तुरुन्तै सो क्षेत्रमा टोली पठाउन निर्देशन दिनु भएको हो । मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्र वाट २र२ जनाको दरले टोली पठाउने निर्णय भएको हो। टोलीले मधेस प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरू सँग पनि समन्वय गर्ने छ । मधेस प्रदेश सरकारले लामो समय सो क्षेत्रमा पानी नपर्दा खाने पानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिन अघि सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
मन्त्री अधिकारीले अबको केही दिन भित्र वर्षा नभएको अवस्थामा तिनै तहको सरकारले विकल्प खोज्नु पर्छ , मन्त्रालय मातहतका सबै निकायहरू लाई यस तर्फ लगाउनु पर्छ , भन्नुभयो । हाल रहेका सिँचाइका संरचनाहरूलाई पुर्ण रुपमा सञ्चालन गरी , सिचाइका लागि अन्य विकल्पहरू के के हुन सक्छन् सम्बन्धित निकायहरू सङ्ग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
मधेसका ८ जिल्लामा हाल सम्म करिब ४६ प्रतिशत रोपाई सम्पन्न भएको मधेस प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।