चन्द्रपुर समाचारदाता
चन्द्रपुर (रौतहट), साउन २ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कामकाजमा नखटाउन मातहतका कार्यालय तथा शाखालाई निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा शाखा प्रमुखलाई यस्तो परिपत्र गरेको हो ।
गाउँपालिकाको असार ३१ गतेको निर्णय अनुसार विभिन्न मितिमा नियुक्त भई गाउँपालिका अन्तर्गत वडा कार्यालय, विभिन्न शाखा, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा दैनिक ज्यालादारी, स्वयंसेवक तथा अन्य अलिखित एवं मौखिक आदेशमा कामकाजमा खटिनुभएका यस प्रकृतिका कर्मचारी, स्वास्थ्यकर्मीको म्याद २०८२ असार मसान्तमा सकिने भएकाले २०८२ साउन १ गतेदेखि लागु हुने गरी कामकाजमा नलगाउने जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवद्वारा जारी सूचनामा यस प्रकृतिका कर्मचारीलाई खटाएमा वा हाजिर गराएमा सम्बन्धित संस्था तथा शाखा प्रमुख नै जिम्मेवार हुने उल्लेख रहेको छ ।
गाउँपालिकाको यो निर्णयसँगै दैनिक ज्यालादारीमा खटिँदै आएका २० जना साउन १ गतेदेखि जिम्मेवारीबाट मुक्त हुने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले बताउनुभयो ।
आन्तरिक आय न्यून रहेको तथा सङ्घ सरकार एवं प्रदेश सरकारको राजस्व बाँडफाँटको रकमसमेत घटेर आउने गरेको कारण कर्मचारी कटौती गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवका अनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) भइसकेकाले सभाबाट अनुमोदन गराएर कानुनको परिधिभित्र रहेर आवश्यक जनशक्ति खटाउने बताउनुभयो । पालिकाको सेवा प्रवाह प्रभावकारी, मितव्ययी बनाउन कार्यालयले गृहकार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले बताउनुभयो ।