• ४ जेठ २०८३, सोमबार

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

blog

काठमाडौँ–तराईरमधेश द्रुतमार्गअन्तर्गत खोकना क्षेत्रको अनुगमन गर्दै सांसद श्रीराम न्यौपाने । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ ४ गते ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले काठमाडौँ–तराई/मधेश द्रुतमार्गअन्तर्गत खोकना क्षेत्रको विवाद समाधानका लागि विशेष पहल थाल्नुभएको छ ।

संयोजक न्यौपानेको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले लामो समयदेखि निर्माण कार्य ठप्प र विवादित रहेको ललितपुरको खोकना क्षेत्रको स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि अग्रसरता देखाएको हो ।

नेपाली सेनाको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको यस राष्ट्रिय गौरवको आयोजनाको सुरुआती ६.५ किलोमिटर खण्ड (खोकना)मा जग्गा प्राप्ति, मुआब्जा वितरण तथा स्थानीय धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदासँग जोडिएका विषयका कारण लामो समयदेखि भौतिक प्रगति प्रभावित हुँदै आएको छ ।

आइतबार गरिएको स्थलगत अनुगमनपछि उपसमितिका संयोजक एवम् सांसद न्यौपानेले विकासको गति र स्थानीय सम्पदाको संरक्षणबिच वैज्ञानिक सन्तुलन कायम गर्दै समस्याको दीर्घकालीन तथा निकासमुखी समाधान तत्काल खोज्न आवश्यक रहेको बताउनुभयो ।

राज्यको राष्ट्रिय महत्त्वको यस पूर्वाधार आयोजनालाई गति दिन र स्थानीय नागरिकको भावनाको सम्मान गर्न मध्यमार्गी उपायमार्फत तत्काल निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

संयोजक न्यौपानेले भन्नुभयो, “राष्ट्रिय गौरवको यस आयोजनाको गति बढाउन स्थानीय नागरिकको भावना र सांस्कृतिक सम्पदा दुवैको कदर गर्दै मध्यमार्गी उपायबाट तत्काल निकास दिन आवश्यक छ ।”

उहाँले ६.५ किलोमिटर खण्डको विवाद अन्त्य गर्नु अहिलेको मुख्य चुनौती र आवश्यकता रहेको बताउनुभयो । द्रुतमार्ग निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन उपसमितिले संसद्को पूर्वाधार विकास समिति र नेपाल सरकारलाई छिट्टै वस्तुनिष्ठ प्रतिवेदन तथा ठोस सुझाव पेस गर्ने जानकारी पनि उहाँले दिनुभयो ।