• ४ जेठ २०८३, सोमबार

नगर उपप्रमुखको तलब–सुविधा सामाजिक कार्यमा

blog

कुँडुले माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेललाई रकम हस्तान्तरण गर्दै नगर उपप्रमुख राजु खड्का । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, जेठ ४ गते ।
केही जनप्रतिनिधि विकास निर्माणका योजनामा अनियमितता गर्दा अख्तियारको फन्दामा परेको समाचार सार्वजनिक भइरहेका बेला बागलुङका एक जनप्रतिनिधिले भने आफूले प्राप्त गर्ने तलब–सुविधा सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ ।

बागलुङ नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएपछि राजु खड्काले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सेवा–सुविधा जनसेवामा लगाउने घोषणा गर्नुभएको थियो । चुनावी प्रतिबद्धतालाई उपप्रमुख बनेको आठ महिनामै कार्यान्वयन गर्नुभएका खड्काले प्राप्त तलब–सुविधा विद्यालयमा अक्षयकोष स्थापना देखि किरियापुत्री भवन निर्माणसम्मका काममा खर्च गर्दै आउनुभएको छ ।

खड्काले रामरेखा आधारभूत विद्यालयलाई एक लाख रुपियाँ, त्रिभुवन माध्यमिक विद्यालय पैयुँपाटालाई १ लाख रुपियाँ, सिगाना माध्यमिक विद्यालय लामिचौरलाई ४४ हजार रुपियाँ, विश्वकर्मा माध्यमिक विद्यालय कालीमाटीलाई ७५ हजार रुपियाँ, नेपाल पत्रकार महासङ्घ बागलुङ शाखालाई ३५ हजार रुपियाँ तथा कृष्ण प्राथमिक विद्यालय सम्माचौरलाई ५० हजार रुपियाँ प्रदान गर्नुभएको छ ।

यस्तै, उपल्लाचौर किरियापुत्री भवनलाई ३५ हजार रुपियाँ, मानवसेवा आश्रमलाई १ लाख रुपियाँ तथा राधाकृष्ण मन्दिर संरक्षण, व्यवस्थापन र नित्य पूजाका लागि अक्षयकोष वृद्धिमा ३५ हजार रुपियाँ सहयोग गरिएको खड्काले जानकारी दिनुभयो । “आवश्यकता हेरेर विद्यालयदेखि विभिन्न कोष र संघसंस्थालाई सहयोग गर्दै आएको छु,” खड्काले भन्नुभयो ।

खड्काले चाडपर्वका बेला सहिद, बेपत्ता र घाइतेका परिवार तथा ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्दै आउनुभएको छ । उहाँले तलब–सुविधाबाट प्राप्त धेरै रकम अझै वितरण गर्न बाँकी रहेको बताउनुभयो ।

शैक्षिक सुधारसँगै सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने, सहिद परिवार, गरिब तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा सहयोग गर्ने खड्काको योजना छ ।

“जनप्रतिनिधिको सेवा–सुविधा सामाजिक कार्यमा खर्च गर्न पाउँदा गौरवका साथै सामाजिक उत्तरदायित्व निर्वाह गरेको महसुस हुन्छ,” खड्काले भन्नुभयो ।

उपप्रमुखबाट प्राप्त रकमबाट रुद्रेपिपल माध्यमिक विद्यालय र रामरेखा आधारभूत विद्यालयले अक्षयकोष स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

“अक्षयकोषले गरिबीका कारण पठनपाठनमा समस्या भोगिरहेका विद्यार्थीलाई धेरै राहत मिलेको छ,” रामरेखा आधारभूत विद्यालयका शिक्षक रेशम गौतमले भन्नुभयो ।

बागलुङ नगरपालिका–४ स्थित कुँडुले माध्यमिक विद्यालयले उक्त सहयोग रकम शैक्षिक सुधार कार्यक्रममा खर्च गर्ने जनाएको छ । यस विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपप्रमुखबाट प्रोत्साहनस्वरूप प्राप्त रकमले थप टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले बताउनुभयो ।

प्रदेश सभाले निर्माण गरेको कानुनअनुसार जनप्रतिनिधिका प्रमुख पदाधिकारीको सेवा–सुविधा ३० देखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा तथा विभिन्न समितिमा सहभागी भएबापत बैठक भत्तालगायत सुविधा पाउने व्यवस्था रहेको छ ।